लागू औषध कारोवारमा संलग्न एग्रोभेट सञ्चालकसहित सात पक्राउ

झापा, प्रहरीले प्रतिबन्धित लागू औषधसहित एकै दिन सात जनालाई पक्राउ गरेको छ । दमक नगरपालिकाबाट चार केजी गाँजासहित शनिबार इलाम, माङ्सेबुङ–६ घर भई दमकमा डेरा गरी बस्ने २६ वर्षीय अर्पण राईलाई प्रहरीले पक्राउ गरेको हो । उनलाई प्रहरीको विशेष टोलीले चार केजी २५ ग्राम गाँजासहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिए ।

त्यस्तै विर्तामोड नगरपालिकाबाट एग्रोभेट सञ्चालकलाई पनि लागु औषधसहित प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालका अनुसार विर्तामोड–३ मा सञ्चालनमा रहेको गोपाल एग्रोभेटका सञ्चालक ३० वर्षीय गोपाल गौतमलाई २२ ग्राम लागू औषध (ब्राउनसुगर) सहित नियन्त्रणमा लिएको हो ।

त्यस्तै मेचीनगरपालिका–१३ स्थित इलाम रोडबाट आठ दशमलव पाँच ग्राम ब्राउनसुगरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मेचीनगर–१० निवासी १८ वर्षीय विशाल लिम्बू र वडा नं १२ निवासी २३ वर्षीय राजन श्रेष्ठ रहेको इलाका प्रहरी कार्यालय काँकरभिट्टाले जनाएको छ । लागू औषध कारोबारमा संलग्न उनीहरुले चलाएको मे ४ प ७७२६ नंको मोटरसाइकल समेत प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ ।