शक्तिखोरमा करेन्ट लागेर २ सैनिकको मृत्यु

काठमाडौ चितवनको शक्तिखोरमा करेन्ट लागेर दुई सैनिकको मृत्यु भएको छ। कालिका नगरपालिका–८ शक्तिखोरस्थित सिंहनाथ गणमा कार्यरत दुई जना सैनिकको शनिबार मृत्यु भएको हो।

रुखको हाँगा काट्ने क्रममा करेन्ट लागेर सुवेदार राजुबाबु श्रेष्ठ र सैनिक जवान साजन कुमालको ज्यान गएको प्रहरीले जनाएको छ। गणको कम्पाउण्डमा रहेको रुखको हाँगा काट्ने क्रममा करेन्ट लागेर उनीहरुको ज्यान गएको चितवन प्रहरीका प्रवक्ता डिएसपी सूर्यबहादुर थापाले जानकारी दिए।

थापाका अनुसार रुखले विद्युतीय तारलाई छोएपछि उनीहरूले हाँगा काट्ने प्रयास गरेका थिए। श्रेष्ठको उपचारको लागि अस्पताल ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको थियो भने सैनिक जवान कुमालको उपचारको क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको थापाले जानकारी दिए।