मेरो आवाज, आवाज बिहिनको आवाज बन्न सकोस

 उद्देश्य त हो मेरो पनि, जब लेख्नको निम्ति मेरो कलम कागजको समथर पृष्ठभुमिमा दौडन जान्छ तब यसले पोख्ने शब्दहरुले महान भावहरु बोल्नुपर्छ। जब मेरा हातले सृजनाका नयाँ शब्दहरु लेख्न उद्धत हुन्छन तब यिनले व्यक्त गर्ने भावहरु सबैले अनि सहजै बुझ्न सक्ने र एक होइन अनेक सन्देशका वाहक बनेर आउनुपर्छ।

मेरा शब्द र सृजनाहरुले ती वाक्यहरु बोल्नुपर्छ जुन सबैले बोल्न सक्दैनन अनि बोल्न चाहादैनन। बिल्कुल भिन्न तर अपरिहार्य शब्द र भावहरु समाज र सभ्यताको काला पृष्ठभुमिलाई पखाल्न सक्ने पवित्र जल बनेर आउनुपर्छ अनि संस्कार र संस्कृतिको नामधारी धर्म र परम्पराको आवरण भित्र गुटुमुटु परेर बसेका घातक बिषालु हिंस्रक जिवहरुलाई छानीछानी बध गर्न सक्ने रामवाण बन्नुपर्छ। हो त्यसैले म लेख्दै छु आजपनि।

म आज कोही नौला कथाहरु होइन अनि कोहि पुराना इतिहास हरु पनि होइन बस म आफ्नै सृजनाका भावहरु पोखिरहेको छु । जुन अहिले यो पृष्ठभुमिमा पोखिनुभन्दा पहिले मस्तिष्कको प्रशोधन गृहबाट प्रशोधित भएर आएका छैनन यी हृदयको भावनात्मक उद्गम द्वारबाट सिधा प्रसारित छन। यी मैले व्यक्त गरिरहेको छु हामि मानवमा रहेको अव्यक्त भावहरुको माध्यमको रुपमा अनि ओझेल परेका जिन्दगी र कुण्ठित आवाजको प्रतिनिधिको रुपमा। अनि आफ्नै जिन्दगीको उदेश्यको रुपमा तथा बोल्न नसक्नेको आवाजको रुपमा साथै माग्न नसक्नेको मुखको रुपमा।

हजारौंले बोल्ने लाखौं शब्दभन्दा बलियो मेरो एक शब्द होस जसले हजारौंलाई प्रभाव छोड्न सकोस। प्रभाव बिनास तर्फ होइन बिकास तर्फ होस अनि प्रभाव मृत्युु तर्फ होइन जीवन तर्फ होस। निष्क्रियता तर्फ होइन कर्मण्यता र रचनात्मकता तर्फ होस। विकृतीरबिसंगतीले थलिएको हाम्रो समाजमा युगौँदेखिको बाक्लो पुरानो खिया मेटाउन आधुनिक प्रबिधिको रसायन बनेर आवस मेरो आवाज। त्यो एक दिन थियो जतिबेला मेरो पिताजीले भन्नूभयो कि बाबू यदि तैंले तेरो जिन्दगी जब अरुको निम्ति बाँच्न तत्पर हुन्छ्स तब अनगिन्ती जीवन तेरो लागि बाँच्न खडा हुनेछन । म सम्झिन्छु मेरो पिताजी ले दिएको त्यो अभिव्यक्ती त्यो वाक्यांश जसले मलाई सदासर्वदा उनको निम्ति समर्पित हुन प्रेरित गर्छ जसको जिवननै आफैमा एक समर्पण हो, उनको निम्ति बोल्न प्रेरित गर्छ जसका बोली कोहीले सुन्दैनन अनि उनैलाई हेर्न प्रेरित गर्छ जसलाई कोहीले हेर्ने गर्दैन।

वर्तमान युगको कटुसत्य, महलमा बस्नेले गरेको कानेखुसी सबैले सुन्छन अनि आँखाको ईशारा समेत समाजका सबैले बुझ्छन तर सडकको छेउमा न्यायका मागसहित आएका चर्का क्रन्दन त्यही समाजको केवल एकजनाले पनि सुन्न सक्दैन अनि सुन्न चाहादैन। सिंहदरबारमा बस्नेहरुले टाउको हल्लएको सारा मुलुकले देख्न सक्छ तर सडकको छेउमा बसेर घोक्रो फुट्ने गरि चिच्याउँदा पनि उनका चित्कारले कोहिलाई छुन सम्म पनि सक्दैन।

झुपडीबाट निस्केका आवाजहरुले ती झिना भित्ताहरु चिर्न सक्दैनन। यदि चिरेर बाहिर आइहाले भनेपनी तिनै साँघुरा परिसरमानै ओझेल परेर हराउँछन। ठुलाबडाले डिस्को, पाटी र क्यासिनो धाएर आनन्द लिएका कुराहरुका कथा बन्छन तर सडकको छेउ सम्म पनि पुग्न नसक्ने, झुपडीका खाँबाहरुमाथी राख्ने घाँस पनि नपाउनेहरुले जिवनमा गरेका कठिन संघर्षका घत लाग्दा कथाहरु कहिल्यै उज्यालोमा आउन पाउँदैनन। मेरो कलम उनैको निम्ति अनि मेरो आवाज उनैको निम्ति। मेरो आवाजले कुण्ठित भाव बोल्नुपर्छ अनि मेरो कलमले दुखको कथा समेटेर सुखको बाटो तर्फ प्रेरित गर्ने छ भन्नेकुरामा म प्रतिबद्ध रहनुपर्छ।

म दावी कदाचित गर्न सक्दिनँ कि केवल एक दिपशिखाले युगनै उज्यालो हुन्छ अनि म दावी गर्न सक्दिनँकि मेरो प्रयासले दुखको निवारण हुनेछ, सुखको नासत्वनै नष्ट हुनेछ समाजले रंग बदल्ने छ तर म यो चाहिँ संकल्प गर्दछुकि मेरो शब्द र सृजनाहरुले उक्त कुराहरुको प्रतिनिधित्व गर्ने कुरामा कुनै कसर बाकी राख्ने छैनन। भलै युगको कालो अन्धकारलाई चिर्न नसक्लान तर आफै निभ्ने भने पक्कै छैनन। सभ्यतालाई उज्यालो आँगनमा उभ्याउन नसक्लान तर जुनकीरी बनेर झिनो उज्यालो भएपनी दिनेछन।

युगले राखेको माग स्वरुपमा व्यक्त बनुन मेरा शब्दहरु अनि नयाँ सभ्यताको निर्माणका निम्ति समर्पित होउन मेरा भावहरु। जसले जिन्दगीमा हाँसिल गर्नुभन्दा धेरै गुमाएका छन अनि जसको जिन्दगीमा सुख देख्नु पनि औंसिमा जुन देख्नुजस्तै भएको छ। जसका बोलिहरु फुट्दैनन र जसका आवाजहरु गुन्जिदैनन हो मेरो आवाज अनि मेरा शब्द र अक्षर सृजनाहरु उनैको निम्ति हुनुपर्छ। इतिहास जसलाई सम्झिन तयार छैन अनि आधुनिक युग जसलाई स्वीकार गर्न तयार छैन उनको लागि पनि बोलिदिने र उनको प्रतिनिधित्व गरिदिने पनि त कोहि होस। प्राकृतिले समान व्यवहार गरेतापनी नियतिबाट ठगिएका हरु लाई न्यायिक आभास दिलाउने कोहि त हुनुपर्छनै जसलाई युगले स्वीकार गरोस। जसको आवाज लाई सबैले स्वीकार गर्न सकुन।

आज मुलुकमा बहुसंख्यक जनता गरिबिको रेखामुनि निम्न स्तरको जीवन बाचिरहेका छन। ती मध्यपनी कोहि प्रत्यक दिन खुनको आँसु रोएर जिवनको अनिश्चित पदयात्रा पूरा गर्दैछन भने कोहिले कठिन भन्दा कठिन परिस्थिति पार गरेर, धातु जस्तै भट्टिमा पोलिएर अनि हिराजस्तै उच्च ताप र चाप सहेर आज चमचाउँदो सुन्दर आकारमा प्रस्तुत भएका छन तर उनको संघर्ष र सौन्दर्यलाई बिलासिता र स्वार्थको चस्मा लगाएको दुनियाँले देख्न सकिरहेको छैन।

प्रेरणाको स्रोतहरु ओझेल परेका छन तिनै जिवनलाई पर्दामा उभ्याउनु मेरो उत्तरदायित्व हो। एउटा कथाले हजारौंको जीवन रुपान्तरण गर्न सक्छ, एउटा बिचारले लाखौंको सोच बदल्न सक्छ तर बिडम्बना हाम्रो समाजमा त्यस्ता हजारौं कथा छन जुन समाजको आँखाले देख्न सकिरहेको छैन अनि लाखौं त्यस्ता बिचारहरु छन जुन समाजमै रहेर पनि समाजको परिधी भन्दा बाहिर छन। तिनै कथा वाचनको निम्ति हो मेरो आवाज अनि तिनै ओझेल परेका बिचारहरुलाई सार्वजनिक गर्नलाई हुन मेरा शब्दहरु।

समाजका दुखी दरिद्रहरुलाई हेर्ने मानिसहरूको निम्ति समय कहाँ छ ररु सृजनाका अनि बिकासका स्रोत युवा पिढिलाई मार्गदर्शन गर्न यो सभ्यता संग समय कहाँ छ ररु हो केवल यी त आफैमा बिलाइरहेका छन। युगलाई साहेद यो कुराको बोध छैन कि दुख कहिल्यै एक्लो हुदैन अनि सुखले कहिल्यै कथा बोल्दैन। सुख कहिल्यै स्थायी हुदैन तर दुख कहिल्यै मेटिदैन अनि सुखले कहिल्यै सृजना गर्दैन तर दुख कहिल्यै व्यर्थ जाँदैन। तिनै दुखिका दुख अनि मुल्यांकन नभएका स्रष्टाका सृजना वोल्नकै निम्ति मेरो आवाज सदा तत्पर हुनुपर्छ म यहि चाहाना राख्दछु। अन्धकारमा रुमल्लिने हरुको लागि अलिकती भएपनी उज्यालो दिन सकुँ अनि बेसाहारा हरुको निम्ति साहाराको आस बन्न सकुँ। प्रेरणा र परिवर्तन अनि उत्तम सभ्यता तथा सृजनाको आवाज बन्न सकुँ।

त्यसैले म भन्दछु मेरो आवाज, आवाज बिहिनहरुको आवाज होस अनि मेरो जीवन उनीहरुको लागिनै समर्पित होस जो सङ्ग आफ्नो जीवन अनुभव गर्नको निम्ति आधार सम्म छैन। पुराना कथाबाट नयाँ खोज अनि नयाँ सिद्धान्त बाट भावी पुस्तालाई सौन्दर्यपुर्ण जिवनको सुनिश्चित हाम्रो बिचारले बोकेर ल्यावस। अनि ल्याउनै पर्छ पनि।

प्रेरणा दुखबाट आउँछ, कथा दुखले व्यक्त गर्छ अनि स्थायी पनि दुखनै हुन्छ, जीवन दुखले सिकाउन सक्छ अनि शिक्षा पनि दुखलेनै सिकाउन सक्छ। सुख र बिलासिता न कहिल्यै दिर्घजिवी थियो न रहने छ।