कर्णालीमा थप २१ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १ हजार ६१६

सुर्खेत, कर्णाली प्रदेशमा आइतबार  थप २१ जना  कोरोना संक्रमित थपिएका छन्।  योसँगै कर्णालीमा कोरोना संक्रमितको संख्या एक हजार ६ सय १६ जना पुगेको छ।

थपिएका संक्रमितमध्ये सुर्खेतका ११ जना, कालिकोटका सात जना, रुकुमपश्चिमका दुइ जना र दैलेखका एक जना रहेका  छन्।

सामाजिक विकास मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा सुर्खेतस्थित पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमध्ये वीरेन्द्रनगर नगरपालिका–३, गुर्भाकोट नगरपालिका–४ र १३ का एक/एक जना, सिम्ता गाउँपालिका– ३ र ५ का दुई/दुई जना, वडा नं. ४ का एक जना र वडा नं. ८ का तीन जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको पीसीआर परिक्षणमध्ये कालिकोटको महावै गाउँपालिका–२, खाँडाचक्र नगरपालिका–१, सान्नीत्रिवेणी गाउँपालिका–१ र वडा नं. ४ का एक/एक जना र वडा नं. २ का चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

त्यस्तै रुकुमपश्चिमको चौरजहारीको प्रयोगशालामा परीक्षण गरिएकामध्ये चौरजहारी नगरपालिका–५ का दुइ जना र दैलेख अस्पतालको प्रयोगशालामा परीक्षण गरिएकामध्ये आठबिस नगरपालिका–४ का एकजनमा पनि कोरोना संक्रमण पुष्टि भएको छ।

प्रदेश अस्पताल सुर्खेत र दैलेखको नौमुलेबाट एकएक जना, दैलेखकै भैरवी गाउँपालिबाट दुइ जना, दैलेख अस्पतालबाट २७ जना र सल्यानको बनगाड कुपिन्डे नगरपालिकाको आइसोलेसन सेन्टरबाट १२ जना गरी प्रदेशभर ४३ जना डिस्चार्ज भएका छन्।