लकडाउन उल्लंघन गरेको भन्दै भारतमा १२ नेपालीविरुद्ध मुद्दा

एजेन्सी, लकडाउन उल्लंघन गरेको भन्दै भारतमा १२ जना नेपालीविरुद्ध मुद्दा दायर भएको छ । लकडाउन उल्लंघन गरेको आरोपमा भारतको एक अदालतमा १२ जना नेपाली तब्लिगी जमात सदस्यविरुद्ध कारवाही माग गर्दै मुद्दा दायर गरिएको हाे।

तब्लिगी जमातका १२ नेपाली सदस्यलाई आईपीसी र महामारी रोग ऐनअन्तर्गत मुद्दा दायर गरिएको भारतीय अखबार इन्डियन एक्सप्रेसले आफ्नो समाचारमा उल्लेख गरेको छ।

लकडाउनका बेला भेला हुन नपाउने नियमविपरीत उनीहरू भारतमा आयोजित एक भेलामा सहभागी भएको अभियोग लगाइएको छ। मुद्दा दायर गरिएका नेपालीको परिचय भने समाचारमा खुलाइएको छैन।

यसैबीच, भारतीय प्रहरीले दिल्ली, मणिपुर, हरियाणा र उत्तर प्रदेशका २२ अन्य तब्लिगी जमात सदस्यहरूविरुद्ध पनि छुट्टै मुद्दा दायर गरेको छ।