सरकारविरोधी प्रर्दशन हुन थालेपछि गृहले दियो यस्तो कडा निर्देशन
काठमाडाैँ, देशव्यापी रूपमा सरकारविरूद्ध सडकमा प्रदर्शन हुन थालेपछि गृह मन्त्रालयले कारबाही गर्ने चेतावनी दिएको छ। बिहीबार गृहले एक विज्ञप्ति जारी गर्दै लकडाउनको समयमा आन्दोलनमा हिँड्नेलाई संक्रामक रोग ऐन २०२० को दफा ३ अनुसार कारबाही गर्ने चेतावनी दिएको हाे ।
बिगत केही दिनदेखि विभिन्न बहाना वा माग राखेर सामाजिक सञ्जालबाट सर्वसाधारणलाई निश्चित स्थानमा जम्मा हुन आह्वान गर्ने, जुलुस प्रदर्शन गर्ने र शान्तिपूर्ण धर्नाका नाममा धेरै व्यक्ति सहभागी गराउने, ज्ञापन पत्र दिन जानेजस्ता कामप्रति गृहले गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेको छ।
गृहले लकडाउन उल्लंघन गर्नेलाई कारबाहीको चेतावनी दिँदै बिहीबार विज्ञप्ति निकालेको हो। सहसचिव केदारनाथ शर्माले निकालेको विज्ञप्तिमा लकडाउन आदेशको अवहेलना गर्ने वा काममा बाधा पुर्याउने व्यक्तिलाई संक्रामक रोग ऐन २०२० को दफा ३ को सजायअन्तर्गत सम्बन्धित सिडिओले नगद जरिवाना र थुनामा राख्ने उल्लेख गरेका छन्।
‘बन्दाबन्दीको आदेशको अवहेलना गर्ने वा काममा बाधा पुर्याउने व्यक्तिलाई संक्रामक रोग ऐन, २०२० को दफा ३ को सजायअन्तर्गत सम्बन्धित प्रमुख जिल्ला अधिकारीले रू १०० देखि ६०० सम्म जरिवाना र १ महिनादेखि ६ महिनासम्म थुनामा राख्नेले गरी कारबाही गर्न सक्ने प्रावधान रहेको व्यहोरासमेत सम्बन्धित सबैलाई स्मरण गराइन्छ,’ विज्ञप्तिमा भनिएको छ।
लकडाउनलाई बाधा पुग्ने गरी काम गरेमा प्रजिअले कारबाही गर्न सक्ने गृहको भनाइ छ। गृहले लकडाउनका बेला घरमै बसेर गरेको सहयोगप्रति नागरिकलाई धन्यवाद दिएको छ। यसअघि बिहीबार प्रधानमन्त्री निवास बालुवाटारलगायत देशभरका विभिन्न ठाउँमा सयौं मानिस प्रदर्शनमा उत्रिएका थिए।