जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता, चौथो वरियतामा बाबुराम
काठमाडौं , जनता समाजवादी पार्टी (जसपा) निर्वाचन आयोगमा दर्ता भएको छ । आइतबार जसपाका नेताहरु निर्वाचन आयोगमा पुगेर दल दर्ता गरेका हुन् ।
निवेदन दिएको ४५ दिनभित्र दल दर्ताका लागि आवश्यक कागजात पुग्यो-पुगेन भन्ने हेरेर दर्ता प्रक्रियालाई अघि बढाउने हुने प्रावधान छ ।
दल दर्ताका लागि दिएको निवेदनमा महन्थ ठाकुर र उपेन्द्र यादव पार्टी अध्यक्ष र अशोक राई, बाबुराम भट्टराई र राजेन्द्र महतो वरिष्ठ नेता रहेका छन् ।
जसअनुसार बाबुराम भट्टराई, अशोक राई र राजेन्द्र महतो वरिष्ठ नेता कायम रहनेछन् । यस्तै, ५३ जना केन्द्रीय कार्यकारिणी सदस्य रहनेछन् ।
आज दिउँसो बाबुरामलाई संघीय परिषद् अध्यक्ष बनाउने सहमति भएको थियो । तर, उक्त सहमति उल्टिएको हो ।
यसअघि आइतबार नै जसपाले अध्यक्षमण्डलको टुंगो लागेको छ । पदाधिकारी टुंगो लागेपछि जसपाका नेताहरू अहिले ४ बजे दर्ता प्रक्रियाका लागि निर्वाचन आयोगमा पुगेका थिए ।