सुर्खेतका व्यवसायीद्धारा लकडाउन उल्लंघनको निर्णय

बिरेन्द्रनगर, सुर्खेत उद्योग वाणिज्य संघले २१ जेठदेखि लकडाउनको अवज्ञा गर्ने जनाएको छ । सुर्खेत उद्योग वाणियज्य संघले भोलि (जेठ २१) गतेदेखि बजार खुला गर्ने निर्णय गरेको हो। बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म पसलहरु खुला गर्ने निर्णय भएको संघले जनाएको छ। दुई महिना लामो बन्दाबन्दीपछि सरकारले निजी क्षेत्रलाई राहतका प्याकेजहरु दिन नसकेको भन्दै पसलहरू खोल्ने निर्णय गरेको हो ।

करिब दुई महिनाभन्दा लामो लकडाउनका कारण धराशायी हुने अवस्थामा पुगेको निजी क्षेत्रलाई सरकारले राहतका प्याकेजहरु घोषणा गर्छ कि भन्ने निजी क्षेत्रको अपेक्षालाई सरकारले पूर्ण रुपमा उपेक्षा गरिदिएको छ,’ संघका अध्यक्ष धनबहादुर रावतद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘सरकारको अकर्मण्यता र वेवास्ताबाट प्रताडित भइसकेको अवस्थामा पसलहरु सञ्चालनमा ल्याउने बाध्यात्मक निष्कर्षमा पुगेका छौँ ।’

संघका अनुसार बिहान १० देखि दिउँसो ३ बजेसम्म सम्पूर्ण पसलहरू खोल्ने र त्यसबाहेकका फलफूल, तरकारी, डेरी, ग्यास पसलहरू बिहान ५ देखि ९ बजेसम्म र साझँ ५ देखि ८ बजेसम्म खोल्ने संघले जनाएको छ ।