थप २२६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १७९८

काठमाडौं, बितेको २४ घण्टामा नेपालमा थप २२६ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले आज थप २२६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको बताए । जसमा २१३ जना पुरुष र १३ जना महिला रहेका उनले बताए ।

देवकोटाका अनुसार पछिल्लो २४ घण्टामा थपिएका संक्रमितहरुमा झापाका २, नवलपरासीका ३, दैलेखका ४१, जुम्लाका १९, सल्यानका १०, सुर्खेतका ५, कपिलवस्तुका ४०, रौतहटका १८, बाँकेका ७, दाङका ९, धनुषाका ७, महोत्तरीका २, मकवानपुरका १, सर्लाहीका ३८, सिरहाका ५, उदयपुरका १, अछामका १, कैलालीका १४, बैतडीका १, डोटीका १, कञ्चनपुरका १ जना रहेका छन् । 

हालसम्म ५९ जिल्लामा कोरोना संक्रमण फैलिइसकेको मन्त्रालयले जनाएको छ ।

देशभर ७१ हजार ९ सय ६ जनाको पीसीआर विधिबाट कोरोना परीक्षण गरिएको छ। अहिले देशभर १ लाख ३३ हजार ९ सय ७५ जना क्वारेन्टाइनमा छन्। त्यसैगरी विभिन्न अस्पतालमा १ हजार ५ सय ६९ जना आइसोलेसनमा छन्।