कर्णालीमा थप ७५ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १९८

बिरेन्द्रनगर, सुर्खेत कर्णाली प्रदेशमा सोमबार थप ७५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाका अनुसार आज थप ७५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

महाशाखाका अनुसार “प्रदेश अस्पताल सुर्खेत, पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा ३२ जनामा र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा ४३ जनामा देखिएको छ ।

“जुम्ला, दैलेख, सल्यान र सुर्खेतमा थप ७५ जनामा कोरोना देखिएको हो ।” कोरोना संक्रमण देखिनेमा २ वर्षका बालकदेखि ६३ वर्षकासम्मका छन् । यससंगै कर्णाली प्रदेशमा कुल संक्रमितको संख्या एक सय ९८ पुगेको छ ।

जसमध्ये दैलेखमा सबैभन्दा धेरै ८९, सल्यानमा ३५, सुर्खेतमा ३४, जुम्लामा १९, कालिकोटका १८ र मुगुका १ जना छन्। यस्तै, बझाङ र बाजुराका एक/एक जनालाई पनि कर्णालीमै संक्रमण देखिएको हो।

कर्णालीका संक्रमितमध्ये दैलेखका एक जनाको मृत्यु भइसकेको छ।