पाँच मुक्तकहरु

१)

झुटको पोको बोक्नेलाई मैदान खाली छ
अग्रगामी पाउ रोक्नेलाई मैदान खाली छ
आऊ गरौँ सुन्दर सम्झौता यो देशको हितमा
दुनियाँ अगाडि खोक्नेलाई मैदान खाली छ ।

 २)

राम्रै काम गर्दा पनि टुट्नेहरूसँग
स्वार्थको निम्ति यहाँ फुट्नेहरूसँग,
म एक्लै पनि हिँड्न तयार छु है
हिँड्नु छैन यो देश लुट्नेहरूसँग ।

 ३)

आज दस बनाउछु भोलि सय बनाउँछु
आफ्नै खाले विचार अनि लय बनाउँछु ।
कोही यहाँ राम्रो कुरामा आत्तिनु पर्दैन
म मेरै मिहिनेतले अलग परिचय बनाउँछु

 ४)

तिमी भित्रको बिकार के हो सम्झिनु पर्छ
नजरका दुषित खोलाहरू सङ्ग्लिनु पर्छ ।
भित्री आँखाले हजार पटक चिन्तन गरेर
सत्य के हो? सत्यकै हाँगा पक्रिनु पर्छ ।

 ५)

घमण्डीलाई आफू संसारको सबै जस्तो लाग्छ,
अल्छीलाई मीठो खान पाउँदा दशै जस्तो लाग्छ ।
कसैको यहाँ व्यक्तिवादी स्तुति र भजन सुनिरहँदा
कोही कोहीको कुरा मलाई त गफै जस्तो लाग्छ ।