दाङका मन्दिपको हत्या साथीहरुले नै गरेको प्रहरीको निश्कर्ष

दाङ, दाङका मन्दिप भुजको हत्या उनकै साथीहरूले गरेकाे ईलाका प्रहरी कार्यालय तुलसीपुरले निष्कर्ष निकालेकाे छ । उनका ४ जना साथीहरु मिलेर भुजकाे हत्या गरेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले निश्कर्षमा निकालेको हाे । प्रहरी स्रोतका अनुसार भुजको हत्यामा तुलसीपुर उपमहानगरपालिका–१८ निबासी ओमबहादुर सार्की (नङकट्टी) तुलसीपुर–६ कपडादेवी निवासी सौरभ पोख्रेल, तुलसीपुर–५ निवासी अजय बुढाथोकी(असे) र आशिष नेपाली (घ्वापे) रहेका छन् ।

‘हामी लगभग यिनै ४ जनाले हत्या गरेका हुन् भन्ने निश्कर्षमा पुगेका छौ,’ प्रहरी स्रोतले भन्यो–‘अझै केही प्रमाणहरु भेटिन्छन् की भन्नेमा छौ । यसको विस्तृत कुरा आयो भने पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने तयारी गरेका छौ ।’

आरोपितहरुले शुक्रबार राति करिब ११ बजेदेखि १२ बजेको बीचमा ढुङ्गाले टाउकोमा थिचेर हत्या गरेको स्रोतले बतायो । घटना स्थलबाट हत्या गर्न प्रयोग गरेको ढुङ्गा समेत प्रहरीले बरामद गरेको छ । हत्या गरेर लुकाएको ढुङ्गा प्रहरीलाई सिकाउन आरोपी सौरभ नै गएका थिए । मृतक भुज र आरोपीहरु पश्चिम तर्फको अटोभिलेजदेखि उत्तर तर्फ रहेको एक होटेलमा राति ८ बजेदेखि संगै बसेर मादकपदार्थ सेवन गरेको खुल्न आएको छ ।

अटोभिलेजमा विगत २ बर्षदेखि रेडीवाटर बनाउने काम गर्दै आएका भुजलाई तुलसीपुर– ५ मा रहेको ज्ञानज्योति आधारभूत विद्यालयको नवनिर्मित भवन पछाडि मृत अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

घटनाको जानकरी पाए लगत्तै एक घन्टामै ११ जनलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको प्रहरीले ४ जनाले हत्या गरेको निश्कर्षमा पुगेको हो ।