रूकुम घटनाको बिरूद्ध लमहीमा प्रदर्शन

देउखुरी, जाजरकोटका दलित युवा नवराज बिकको हत्याको बिरूद्ध आज शुक्रबार दाङको लमहीमा प्रर्दशन गरिएको छ । दलित सचेतना अभियान लमही दाङको नेतृत्वमा बिरोधर्याली निकालिएको हो । लमहीको सार्बजनिक बगैँचाबाट शुरु भएको उक्त र्यालीले बजार परिक्रमा गर्दै छम्पाली चोकमा पुगेर कोण सभामा परिणत भएको थियो ।

उक्त काेषसभालाई सम्बोधन गर्दै दलित सचेतना अभियान दाङका अध्यक्ष शशीराम नेपालीले एक्काइसाँै शताब्दिमा आएर पनि दलित माथि हुने जातीय छुवाछुत हुनु दुखद भएको बताए । ‘देशमा कानुन हुदाहुँदै पनि कानुनको उपहास गरेर दलित युवालाई हत्या गरिनु योजनाबद्द भएको भन्दै हत्यामा संलग्न सबैलाई आजीवन कैद गर्नुपर्छ, नेपालीले भने । हिजाका दिनमा तिनै दलितलाई प्रयोग गरेर सत्ता संचालनमा पुगेका व्यक्तिबाटै दलित समुदाय अपहेलित हुनु परेको उनले बताए ।

त्यस्तै अभियानका पूर्व अध्यक्ष गोपाल विश्वकर्माले आफ्नो प्रेमिका लिन गएका जाजरकोटका दलित युवा नवराज बिक लगायत अन्य युवाहरुलाई लखेटी लखेटी निर्मम हत्या गरेको भन्दै आक्रोस पोखेका थिए । देशमा गणतन्त्र आइसक्दा पनि यो कस्तो सस्कार हो, दलितले गैरदलित केटीलाई बिहे गर्न नपाउनु ? कार्यक्रममा बोल्दै पूर्व अध्यक्ष विश्वकर्माले घटनालाई तोडमोड गरेर पिडितलाई अन्यायमा पार्ने षडयन्त्र भए देशभरका दलितहरु सडकमा आउँन बाध्य हुने चेतावनी समेत दिए ।

अभियानले रुकुम पश्चिम घटनाका बिरुद्ध प्रेस बिज्ञप्ती समेत निकालेको छ । अभियानका अध्यक्ष शशीराम नेपालीद्वारा हस्ताक्षर बिज्ञप्तीमा सबै राजनीतिक दल सम्मिलित उच्चस्तरीय छानबिन समिति गठन हुनु पर्ने, जातिय भेदवाद तथा छुवाछुत गर्नेलाई संबिधान र कानुनले तोके बमोजिम हदै सम्मको कारबाही हुनु पर्ने, ज्यान मर्ने र आपराधिक घटना घटाउने व्यक्ति पहिचान गरी आजीवन कारावास हुनु पर्ने, कसैको प्रभाव र दवाबमा नपरी निष्पक्ष अनुशन्धान हुनु पर्ने, बेपत्ता पारिएका युवाको खोजी र घाइतेको उपचार हुनु पर्ने र उक्त घटनाको छानबिन नहुँदै भ्रामक र घटनालाई कमजोर पारेर दोषीलाई उम्काउने जस्ता सामाजिक संजालमा पोष्ट गर्नेलाई कानुनी दायरामा लिएर कारवाही हुनुपर्ने माग राखेका छन् ।

जाजरकोटका युवा नवराज बिक र रुकुम पश्चिमकी मल्ल थरकी युवती लामो समय प्रेम सम्बन्ध रहेका थिए । तिनै मल्ल थरकी प्रेमिकालाई बिहे गर्न भनेर घरबाट हिडेका जाजरकोटका युवा नवराज बिक सहित पाँच जनाले ज्यान गुमाएका छन् भने, एक जनाको अवस्था अझै अज्ञात रहेको छ ।