विदेशमा अलपत्र परेका नेपालीलाई स्वदेश ल्याउने सरकारको निर्णय

काठमाडौँ । सरकारले तेस्रो मुलुकमा अलपत्र परेका नागरिकहरुलाई प्राथमिकीकरण गरेर स्वदेश ल्याउने निर्णय गरेको छ । उपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको शुक्रबार बसेको बैठकले समस्यामा परेका नेपाली नागरिकलाई स्वदेश ल्याउने निर्णय गरेको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालनेपाली यका सचिव नारायण विडारीका अनुसार आममाफी पाएर नेपाल आउन नपाएका, विभिन्न भिसामा गएका तर आफन्तको मृत्यु भएका कारण काजक्रिया गर्न आउनुपर्ने अवस्थामा रहेका नागरिकलाई स्वदेश फर्काउने तयारी गरिएको हो ।

यस्तै करार अवधि सकिएका र रोजगारी गुमाएका व्यक्तिहरु, कोरोना बाहेक अन्य कारणले गम्भीर स्वास्थ्य अवस्था भएका व्यक्तिहरु, सुत्केरी तथा गर्भवती महिला, बालबालिका, जेष्ठ नागरिक र अपांगता भएका व्यक्तिहरु प्राथमिकतामा छन् भने सरकारी सेवामा रहेका र विदेश अध्ययन वा तालिमका लागि गएर फर्किन नपाएका, अध्ययन सकिएका विद्यार्थीहरु, कलेज बन्द भएका विद्यार्थीहरु, पारिवारिक भेटघाटमा गएर फर्किन नपाएका व्यक्तिहरुलाई पनि तत्काल स्वदेश फर्काउने समितिले निर्णय गरेको छ ।

समितिले भारतमा रहेका नेपाली नागरिकहरुलाई उद्धार गर्नका लागि विभिन्न नाकाहरुलाई आधिकारिक रुपमा तोकेको छ । जसमा पशुपतिनगर(इलाम), काकडभिट्टा(झापा), रानी(मोरङ), कुनौली(सप्तरी), ठाडी(सिराहा), माडर(सिराहा), भिट्टामोड(महोत्तरी), मंगलवा (सर्लाही), गौर(रौतहट), वीरगञ्ज(पर्सा), महेशपुर(बारा), बेलहिया (रुपन्देही), तौलिहवा (कपिलवस्तु), कृष्णनगर (कपिलवस्तु), जमुनाह (बाँके), सुरजपुर(बर्दिया), गौरीफन्टा (कैलाली), गड्डाचौकी(कंचनपुर), झुलाघाट (बैतडी) र दार्चुला रहेको सचिव बिडारीले बताए।

उनकाअनुसार भारतबाहेकका मुलुकमा रहेका नेपालीहरूलाई ल्याउन नेपालमा भएका सबै कम्पनीका जहाजहरूले उडान गर्नेछन् । फर्किनेले सम्बन्धित देशका दूतावासमा आवेदन दिनुपर्नेछ । काठमाडौं विमानस्थलमा आइसकेपछि उनीहरूलाई होटलमा राखिनेछ । मन्त्रिपरिषद बैठकले यसअघिनै भारत लगायत तेस्रो मुलुकमा कारण अलपत्र परेका नेपाली नागरिक फिर्ता ल्याउने निर्णय गरिसकेको छ ।