नेपालगञ्ज लकडाउनको मौकाछोपी लाखौंको चोरी

नेपालगन्ज, बाँके नेपालगञ्जमा बन्द रहेको घरबाट लाखौंको चोरी भएको घट्ना सार्वजनिक भएको छ । वडा प्रहरी कार्यालय नेपालगञ्जका अनुसार नेपालगञ्ज वडा नं–९ बाँके गाउँस्थित एक बन्द घरमा चोरी भएको हो ।

प्रहरीका अनुसार घरमा कोही नभएको मौका छोपेर चोरी गरेको देखिएको छ । घरमा कोहि नभएको अवस्थामा करिब साढे चार लाख बराबरको चोरी भएको घरबेटीका भाई व्यासचन्द्र मिश्रले जानकारी दिए ।

छोरीको बिहेमा दिन ल्याइएको दाइजो लगायतका सामानहरु घरमा राखेर बन्द गरिएको थियो । घरबेटी देवप्रकाश पाण्डे दुई महिनादेखि बर्दियाको कतरनियामा बस्दै आएका छन् । नेपालगञ्जमा रहेको यो घर भाडामा रहेपनि विहेका लागि भनेर खाली गराई आवश्यक सामानहरु त्यँही राखिएको थियो ।

छोरीको विवाह गत फागुनमा भएको थियो । तर (गौना) बिदाई गरेर सबै सामानहरु दिने तयारी गरिएपनि कोरोना भाइरसका कारण सबैतिर लकडाउन भएपछि बिदाई हुन पाएन । भएको सामान घरमा राखेर ताल्चा लगाएर राखियो र घरमा भएको सबैजना कतरनियामा भएको घर गएर बसेका थिए ।

चोरी कहिले भयो भन्ने यकिन नभएपनि लकडाउन लम्बिदै गएपछि बर्दिया गएकाहरु फर्किन नपाएको र घरको रेखदेख हुन नपाएको अवस्थामा चोरी भएको हुन सक्ने अनुमान गरिएको छ । चोरी भएको घट्नाको खुलासा सोमबार साँझ मात्रै भएको बताइएको छ ।

बाहिरबाट गेटमा ताल्चा लागेको कोही नभएको घरमा राखिएको बिस्तरा बाहिर देखिएपछि घरमा चोरी भएको जानकारी भएको पाण्डेका भाई व्यास मिश्राले बताए  । घरमा राखिएको लंहगा लाचा, साडी, पंखा, मोटर, गलैचा, मसिनो चामल साढे तीन क्विन्टल, पिठो २० केजी, मिक्सर, राइस कुकर, प्रेसर कुकर, सिलिण्डरसहितको ग्याँस चुल्हो, काँसको भाडा बर्तन, प्लाष्टिक कुर्सी ६ पीस, चिनी, १५ केजी, चिउरा २० केजी सहितका सामान चोरी भएको छ ।

घट्ना भएको थाहा पाएपछि घरबेटी पाण्डेले वडा प्रहरी कार्यालय नेपालगञ्जमा उजुरी गरेको र चोरको खोजी भइरहेको प्रहरी कार्यालय मुद्दा फाँटका दिपेश बस्नेतले जानकारी दिए  ।