फौजी किराको प्रकोप देखिएपछि गाउँपालिकाले दियो किसानलाई औषधी
भालुवाङ, दाङको राप्ती गाउँपालिका क्षेत्रमा लगाइएको मकैमा अमेरिकी फौजी किराको प्रकोप देखिन थालेपछि राप्ती गाउँपालिकाले त्यसको नियन्त्रण गर्न सुरु गरेको छ । प्रशस्त मात्रामा मकै खेती रहेको वडा नं १, २, ४, ५ र ९ मा फौजी किराको प्रकोप देखिएको र त्यसलाई नियन्त्रण गर्न औषधि छर्कने काम सुरु भएको राप्ती गाउँपालिकाका प्राविधिक सहायक वरसाति गडरियाले जानकारी दिए ।
गाउँपालिकामा मकै सुपरजोनले सिफारीस गरेका औषधि र कोवरा नामक बायो किटनाशक औषधि, किङस्टार र कि टोप नामक विषादी तथा स्प्रेयर वडा कार्यालयलाई दिइएको छ । वडा कार्यालयले कृषकलाई वितरण गर्ने डढरियाले जानकारी दिए ।
यसैबीच विकास कोष नर्वेको सहयोगमा नामसालिङ विकास केन्द्र ईलामले संचालन गरिरहेको “एकीकृत सामुदायिक विकास परियोजना“ को दाङ कार्यक्षेत्रमा पर्ने वडा नं १ र ९ का मकै कृषकलाई परियोजनाका लाभान्वित १०० साना किसानको करिव १५ हेक्टर जमिनमा पुग्ने विषादी गाउँपालिकाको कृषि शाखासंगको समन्वयमा वितरण गरिएको छ ।
विषादीको उपयोग गर्दा अपनाउनु पर्ने सुरक्षा सावधानी सम्बन्धि सचेत गराउँदै नामसालिङद्धारा कृषकलाई विषादी वितरण गरिएको हो । मकै खेती गरेका कृषकले आफ्नो खेत बारीमा समेत त्यस्तो फौजी किराको लक्षण देखा परे वडा मार्फत कृषि प्रसार शाखामा सम्पर्क गर्न समेत अनुरोध गरेकाे छ ।