समाचार प्रभावः कमानसिंहको परिवारलाई परियार सेवा समाज दाङको सहयोग

छोरीलाई उपचारका नगद र खाद्यान्न सहयोग

भालुवाङ, कुसे न्युज डटकम सहित राष्ट्रिय तथा स्थानीय अनलाइन, रेडियाे, टेलिभिजनमा मंगलबार समाचार प्रकाशित/प्रसारित भएपछि देउखुरीका कमानसिंहलाई सहयाेग जुट्न थालेकाे छ । दाङ-देउखुरी राप्ती गाउँपालिका वडा नम्बर २ बराखुट्टी मुक्तकमैया सुकुम्बासी टोलका ४६ वर्षिय कमानसिंह नेपालीको जेठी छोरी प्रमिला नेपालीको खुट्टाकाे उपचारका लागि परियार सेवा समाजका केन्द्रीय सदस्य तथा दाङ जिल्ला अध्यक्ष केशव नेपालीले ब्यक्तिगत नगद रू १० हजार र खाद्यान्न सहयाेग गरेका छन् ।

पिडित नेपालीकै घरमा पुगेर केशव नेपालीले उक्त नगद तथा खाद्यान्न स्वरूप चामल, तेल, स्वायाबिन, आलु, नुन, बेसार सहयोग गरेका हुन् । साथै नेपालीले सबैलाइ सहयाेगकाे अपिल समेत गरेका छन ।  

गत चैत महिनामा राप्ती गाउँपालिका वडा नम्बर ३ मसुरीयामा रहेको दुर्गाभवानी आधारभुत विद्यालयमा अध्ययनरत १० वर्षिय छोरी प्रमिला नेपाली ९ महिना अगाडि स्कुलमा लडेर दाहिने खुट्टामा सामान्य चोट लागेको थियो ।

सामान्य चोट लागेकी छोरीलाई स्थानीय मेडिकलमा सामान्य उपचार पछि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार गराए तर त्यहाँबाट पनि घाउ सन्चो नभएपछि छोरी प्रमिलालाई भारतको नाैगढमा उपचार गराए । त्यहाँ उपचार गराएपछि घाउ केही सन्चो भएको कमानसिंहले बताए ।

त्यही बिचमा कमानसिंह कामको शिलशिलामा भारतमा नै बसे । त्यसको केही समय पछि कमानसिंहको श्रीमतीलाई आर्कैले ललाई फकाई विदेश पुर्‍यायो यता छोरी प्रमिलाको उपचार तथा सेवा गर्ने मान्छे कोही भएन । खानुपर्ने अाैषधी नियमित भएन नत स्वाहार सुसार नै भयो । सन्चो हुँदै गरेको घाउँ झन पछि झन पाक्दै गयो खुटा समेत बाङ्गो भयो ।

त्यस पछि उनी हिड्न समेत नसक्ने अवस्थामा पुगिन् । अहिले उनको खुट्टा केवल छालाले मात्र अडिएको छ । प्रमिलाको बुवा कमानसिंह भारतबाट घर त आए तर कोरोना भाइरसले गर्दा देश लकडाउन भयो । चितवन क्यान्सर अस्पताल समेत लग्न पाएका छैनन् केवल आशंका मात्र छ । छोरीको खुट्टामा केन्सरले भेटाएको भन्ने ।

हाल छोरीको उपचारमा कमानसिंहको अहिले ६ लाख रूपैयाँ ऋण छ । त्यो ऋण कसरी तिर्ने र छोरीलाई मृत्युको मुखबाट कसरी बचाउने भन्ने चिन्ता रहेको छ । साथै कमानसिंहलाई सहयोग गर्न चाहानेले मोबाइल नम्बर ९८२२९४३९५३ मा फोन गरेर वा भार्गव विकास बैंक लिमिटेड शाखा कार्यालय लालमटियाको खाता नम्बर ०१००१००००५५४३४०००००१ मा पैसा जम्मा गर्न सकिने छ ।