कोरोना भाइरस कृतिम होइन,जनावरबाटै सरेको हो : डब्लुएचओ

काठमाडाैँ, नोवेल कोरोना भाइरसको उत्पति गएको डिसेम्बरको अन्त्यतिर चीनमा जनावरबाट भएको र त्यसपछि मानिसमा सरेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले जनाएको छ। अहिलेसम्म प्राप्त प्रमाणहरु अनुसार हाल महामारीको रुप लिएको कोरोना भाइरसको उद्गम थलो जनावर नै रहेको डब्लुएचओले स्पष्ट पारेको हो ।

यसको उत्पादन प्रयोगशालामा भएको वा जानेरै बिस्तार गरिएको भन्ने कुरामा कुनै सत्यता नरहेको मानव स्वास्थ्य सम्बन्धी विश्वव्यापी निगरानी गर्ने संस्था डब्लुएचओले उल्लेख गरेको हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गएको हप्ता कोरोना भाइरसको उत्पादन चीनको वुहान शहरमा रहेको प्रयोगशालाबाट उत्पादन भएको हुन सक्ने भन्दै त्यसको सत्यता थाहा पाउने प्रयासमा आफ्नो प्रशासन रहेको बताएका थिए ।

उनले यदि कोरोना भाइरस मानव निर्मित रहेको वा थाहा पाएरै फैलाइएको भए चीनले त्यसको गम्भीर परिणाम भोग्नु पर्ने चेतावनी पनि उनले दिएका थिए । तर डब्लुएचओकी प्रवक्ता फाडेला चाइबले मंगलबार जेनेभामा भएको पत्रकार सम्मेलनमा भनेकी छन्, प्राप्त सबै प्रमाणहरुका अनुसार भाइरसको उत्पति जनावरबाटै भएको हो ।

यसलाई कुनै प्रयोगशाला वा अन्त कतै बनाएर जानी जानी फैलाइएको होइन । तर भाइरस कसरी मानवसम्म आइपुग्यो भन्ने बारे उनले स्पष्ट पारेकी .छैनन् । र पनि उत्पति भएको जनावरबाट जनावरको अर्को प्रजातिमा सरेपछि मात्रै नोवेल कोरोना भाइरसको संक्रमण मानिससम्म आइपुगेको हुन सक्नेमा भने बलियो सम्भावना रहेको उनले उल्लेख गरेकी छन् । मानवसम्म कसरी भाइरस आइपुग्यो भन्नेबारे अझै पनि अनुसन्धान जारी रहेको बताइएको छ ।

वुहानमा रहेको विरोलोजी इन्स्टिच्युडको ल्याबमा भाइरसको निर्माण भएको र त्यहिँबाट बाहिर आएको अभियोग लागेको थियो । सो आरोप विरोलोजीले यसअघि नै खण्डन गरेको छ ।

डब्लुएचओकी प्रवक्ता चाइबले गएको हप्ता ट्रम्पले गरेको डब्लुएचओलाई अमेरिकाले दिँदै आएको सहयोग रोक्ने सम्बन्धी घोषणाबाट पर्ने असरबारे अझै पनि अध्ययन भइरहेको बताइन् । त्यसबाट उत्पन्न हुने समस्या समाधानका लागि सहयोगीहरुसँग छलफल भइरहेको पनि उनले उल्लेख गरेकी छन् ।