कोरोनाबाट नेपालबाहिर २ सयभन्दा बढी नेपाली संक्रमित, दर्जनको मृत्यु

काठमाडौं,  कोरोना भाइरसको संक्रमणबाट नेपालबाहिर रहेका २ सयभन्दा बढी नेपाली संक्रमित भइसकेका छन् । एक दर्जनभन्दा बढीको मृत्यु भएको छ ।

सबैभन्दा बढी अमेरिका र बेलायतमा नेपालीको मृत्यु भएको छ । बेलायतमा मृत्यु हुने नेपालीमा अधिकांश पूर्व गोर्खा सैनिक छन् । परराष्ट्र मन्त्रालयले कोरोना भाइरसको संक्रमणको कारण अमेरिका र बेलायतमा ६-६ जना नेपालीको ज्यान गइसकेको तथ्याङ्क सार्वजनिक गरेको छ । परराष्ट्र मन्त्रालयले विभिन्न २० देशमा रहेका २ सयभन्दा बढी नेपाली नागरिकमा कोरोना भाइरसको संक्रमण भएको जनाएको छे । त्यस्तै बेलायतमा ३५ जनामा कोरोना संक्रमण भएको जनाइएको छ ।

बहराइनमा २२ जना, यूएईमा ११ जना, कुवेतमा १२ जना, साउदी अरेबीयामा चार जना र मलेसियामा एक जनामा संक्रमण देखिएको बताइएको छ । त्यस्तै जापानमा दुई जना, अस्ट्रेलियामा आठ, पोर्चुगलमा १२, स्पेनमा कम्तीमा आठ जना र स्वीट्जरल्यण्डमा पाँच जनामा सङ्क्रमण देखिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार माल्दिभ्समा दुई जना, हङकङ, बेल्जीयम, इजरायल र न्यूजील्याण्डमा पनि एक–एक जना नेपालीलाई संक्रमण देखिएको छ । छिमेकी मुलुक भारतको मुम्बईमा अछामका आठ जना नेपालीमा सङ्क्रमण देखिएको छ । नेपालीहरुको अवस्था बुझ्ने र तथ्यांक संकलन गर्ने व्यवस्था भइरहेको जनाइएको छ ।-