अलपत्र मजदुरलाई व्यापारीले खुवाए खाना , चेम्बरले गन्तव्यमा पठायो

भालुवाङ,  विभिन्न जिल्लाबाट अाएका मजदुरलाई बिहीबार दाङ देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर ५ प्रगतिनगर सिसहनियाँका व्यापारीले विहानको खाना खुवाएका छन् ।

पोखरा र काठमाडौंबाट बर्दिया,रोल्पा,रूकुम,सल्यान,तुलसीपुर र बाँके जान लागेका १ सय बढी मजदुरलाई सन्तोष गल्ला पसलका सुभाषचन्द्र गुप्ता, माण्डवी रेष्टुरेन्ट एण्ड लजका चित्रबहादुर केसी, दर्शन खाजा घरका सुरेश शाही,प्रगतिनगर गल्ला पसलका रामलाल पाण्डे, द काठमाडौ रेलरिङ सेन्टरका संजिव छिनाल र पदम मोहरा लगायतका व्यापारीले अलपत्र परेका मजदुरलाई विहानको खाना खुवाएका हुन् ।

यसै बिच सिसहनियाँ अाइपुगेका मजदुरहरूलाई राप्ती गाउँपालिका चेम्बर अफ कमर्सले विभिन्न गाडीबाट  बाँके, बर्दिया, रोल्पा, रूकुम, सल्यान, तुलसीपुर पठाएको छ । 

हप्ता दिन लगाएर पैदल हिडेर ती मजदुरहरू दाङ देउखुरीको सिसहनियाँमा अाइपुगेका थिए । विचल्लीमा परेका मजदुरलाई चेम्बरले प्रहरी चाैकी सिसहनियाँको पहलमा चेम्बरकै सिफारिसमा ट्रकमा चढाएर गन्तव्यमा पठाइएको चेम्बरका अध्यक्ष कुमार अधिकारीले जानकारी दिएका छन् । लडकडाउन भए यता दिनहु जसो मजदुरहरू काठमाडौं,बुटवल,गुल्मी,स्याङ्जा लगायतका जिल्लाबाट भोकभोकै अाउने गरेका छन् ।

सरकारले जो जहाँ छ त्यही सुरक्षित बस्न भने पनि काममा लगाउने ठेकेदार र स्थानीय सरकारले गाँसबाँसको व्यवस्था नगरेका कारण मजदुरहरू भोकभोकै घर फिर्किरहेको मजदुरहरूले बताएका छन् ।