जहाँको सास्ती देख्दैन सरकार
काठमाडौं, बिहीबार बिहान ओरालो लाग्दै हामीले नागढुंगा चेकपोस्टका प्रहरीसँग सोधेका थियौं– आज कति जति मजदुर हिंडेर बाहिर गए ? करिब ५ मिनेट मात्रै ओरालो झरेपछि भित्तामा अडेस लागेर सुस्ताएका तीन जना यात्रीलाई हामीले भेट्यौं । तीमध्ये एक जना सात महिनाकी गर्भवती रहिछन् ।
पृथ्वी राजमार्गको नागढुंगाभन्दा पर पिपलामोड पुग्दा हेटौंडा हिँडेको ट्रकले ‘नारायणघाटसम्म र्पुयाइदिन्छु’ भनेपछि बिहीबार बिहान ट्रकमा बसेका मजदुरहरू (बायाँ) । तर धादिङको गल्छी पुगेको उक्त ट्रकलाई प्रहरीले ‘जहाँबाट ल्याएको हो त्यहीँ लगेर छाडिदिनू’ भनेपछि फर्केर पिपलामोडमै छाडिदिएपछि फेरि हिँडेर महादेवबेंसी पुगेका मजदुर ।
सल्यान, कपुरकोटकी १७ वर्षीया गर्भवती कमला घर्ती आफ्नै रहर या साथीसंगतिको लहलहैमा हिँडेर सल्यान पुग्न कस्सिएकी भने होइनन् । इँटाभट्टामा काम गर्दा कमाएको पैसा र अलिअलि भएको रासन ‘लकडाउन’ को २४ औं दिनमा आइपुग्दासम्म सकिएपछि उनीसँग जसरी भए पनि घर फर्किनुको अर्काे विकल्प थिएन ।
‘पेटमा बच्चा छ, साहुले रासन पनि दिएन,’ कमलाले भनिन्, ‘जसोतसो घर पुग्न पाए हुन्थ्यो भनेर निस्किएका हौं ।’ कमलाका श्रीमानसहितको टोली भने एक घण्टाअघि नै त्यहाँबाट हिँडिसकेको रहेछ ।
कमलाहरूचाहिँ काठमाडौंमा मालसामान छाडेर फर्किएका ट्रकले चढ्न देलान् कि भनेर पर्खिबसेका रहेछन् । ‘हिँड्न सकिएन, हाम्रो बिजोग भयो, जसरी पनि लगिदिनुस् भनेपछि दया देखाउँछन् कि भनेर कुरेका हौं,’ कमलासँगै रित्तो ट्रक पर्खेर बसेकी कपुरकोटकै प्रतिभा बुढाले भनिन् ।
उनीहरूलाई त्यहीँ छाडेर हामी नौबिसेतर्फ अघि बढ्यौं । जसै काठमाडौं जिल्लाभित्रै पर्ने पिपलामोड सकिन ेबित्तिकैको सानो मोड पुग्यौं, एक हूल मानिसहरू ट्रकमा अटेसमटेस भएर बसिरहेका थिए । बर्दियाका मात्रै ३९ र दाङ, सल्यानका ११ जनाको त्यो टोली काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रे र सिन्धुपाल्चोकका विभिन्न कलकारखानामा काम गर्ने मजदुरहरूको रहेछ ।
यसअघि ट्रकमा त्यसरी खाँदाखाँद गरेर तराई–मधेसबाट राँगा–भैंसी मात्रै ल्याएको देखेका हाम्रा आँखा त्यो दृष्यले बिझाउनु स्वाभाविक थियो । तर रातोदिनको हिँडाइले लखतरान परेका ती मजदुरहरूलाई दुई खुट्टा मात्रै अड्याउन भए पनि ट्रक भेटिएकामा असाध्यै खुसी लागेको थियो ।
कति जना सिन्धुपाल्चोकबाट दुई दिन हिँडेर त्यहाँ पुगेका रहेछन् भने कति काभ्रेबाट दिनभरिको बाटो नापेर जम्मा भएका तामाकोसी हाइड्रोपावरमा काम गर्न चैत ८ गते मात्रै सिन्धुपाल्चोक पुगेका निरञ्जन बुढाथोकी दुई दिन हिँडेर काठमाडौं कटेपछि त्यो ट्रक चढ्न पाएका थिए ।
हिँड्दै आउँदा पनि ठाउँ–ठाउँमा प्रहरीको केरकारमा परेका उनी बाटोमा खाना, चिउरा र चाउचाउ खुवाउने तथा ट्रकले नारायणघाटसम्म पुर्याइदिन्छु भनेर मागेको पाँच सय रुपैयाँ तिरिदिने मनकारीप्रति कृतज्ञ देखिए । कान्तिपुर दैनिकबाट