एसईई, ११ र १२ को परीक्षा सामाजिक दूरी कायम गरेर लिइने तयारी

काठमाडौं । यस वर्षको एसईई, ११ र १२ को परीक्षा सामाजिक दूरी कायम गरेर लिइने तयारी थालिएको छ । राष्ट्रिय परीक्षा बोर्डले परीक्षा केन्द्र बढाएर परीक्षा लिने विषयमा गृहकार्य थालेको हो । कोरोना संक्रमणको जोखिमका कारण जारी लकडाउनबाट अवरुद्ध भएको परीक्षालाई व्यवस्थित गर्न र घरबाटै परीक्षा केन्द्रमा आउने/जाने व्यवस्था गर्नेगरी परीक्षा केन्द्र तय गर्न लागिएकाे हाे ।

परीक्षा सञ्चालनका लागि परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) र राष्ट्रिय परीक्षा बोर्डले शिक्षा विकास एकाइ र आफ्नो प्रदेश परीक्षा कार्यालयमार्फत अध्ययन थालेको बताइएको छ । एसईईको परीक्षा गएको चैत ६ गतेदेखि तोकिएको थियो भने वैशाख ८ देखि १२ र २१ गतेदेखि कक्षा ११ को परीक्षा मिति तय गरिएको थियो । कोरोना संक्रमणको भयका कारण सरकारले चैत ५ गते एसईई परीक्षा स्थगित गरेको थियो ।

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा.डा.चन्द्रमणि पौडेलले लकडाउनलगत्तै परीक्षा सञ्चालन गर्ने तयारी भइरहेको बताए । यसैका लागि त्यस अघि नै केही केन्द्र थप गर्ने विषयमा गृहकार्य भइरहेको हाे । डा. पौडेलले भने ‘होम सेन्टर नगरी एकै दिनमा परीक्षा दिएर फर्किने वातावरण बनाइने र होम सेन्टर सम्भव नभएकाले विद्यार्थीलाई घर पायक केन्द्र बनाउने गृहकार्य थालिएको छ ।’ बोर्डले एसईई र १२ को परीक्षा एकैदिन सञ्चालन गर्ने तयारी गरेको छ । बिहान एसईई र दिउँसो १२ को परीक्षा सञ्चालन गर्ने बोर्डको योजना छ ।

परीक्षा कसरी सञ्चालन गर्ने ? भन्ने सन्दर्भमा मंगलबार बोर्ड सदस्य, परीक्षा नियन्त्रक र केही उच्च अधिकारीसँग छलफल चलाएको हाे । छलफलमा अधिकांशले होम सेन्टरभन्दा पनि पायक पर्ने विद्यालयमा केन्द्र कायम गर्न सुझाएको अध्यक्ष पौडेलले बताए । ११ हजार विद्यालयमा होम सेन्टर कायम गर्न सकिने उनको भनाइ छ । ‘अहिले कायम गरिएकामध्ये केही थप गरी केन्द्र विस्तार गर्न सकिन्छ होम सेन्टर कायम गर्न सकिँदैन’ पौडेलले भने ।

उता निजी विद्यालयहरुको साझा संस्था प्याब्सनका अध्यक्ष टीकाराम पुरीले होमसेन्टर कायम गरेर भए पनि परीक्षा सञ्चालन गर्न शिक्षामन्त्री गिरिराजमणि पोखरेलसमक्ष आग्रह गरिएको जानकारी दिनुभएको छ । लकडाउनलगत्तै परीक्षा सञ्चालन गर्न मन्त्रीसँग आग्रह गरिएको उनको भनाइ छ ।

यसवर्ष करिब ५ लाख विद्यार्थीले एसईई परीक्षामा सहभागिता जनाइरहेका थिए भने १२ र ११ मा करिब ९ लाख गरी जम्मा १४ लाख विद्यार्थीलाई नियमित परीक्षामा असर परेको छ । कोरोनाको कारण चैत ६ गतेदेखि सबै परीक्षा स्थगित भएर पठनपाठनसमेत ठप्प भएको छ । यसअघि बोर्डले कक्षा १० का लागि १ हजार १ सय ९५ तथा कक्षा १२ र ११ का लागि १ हजार १ सय ४६ परीक्षा केन्द्र तोकेको थियो ।

केही दिन गृहकार्य गरी परीक्षा केन्द्र थप गर्ने निर्णय गरिने बताउँदै अध्यक्ष प्रा.डा. पौडेलले अहिले तथ्याङ्क संकलन भइरहेको र विद्यार्थीको अवस्था हेरेर पायक पर्ने स्थानमा केन्द्र कायम गरिनेबारे छलफल भइरहेको बताए ।