कोरोना तनाबले राति निद्रा लाग्दैन ? अब यसो गर्नुस् र निदाउनुस ढुक्कसंग

काठमाडौं, मानिस स्वस्थ रहनका लागि दैनिक कम्तीमा पनि ५ देखि ७ घन्टा निदाउनु आवश्यक पर्छ । तर वृद्धवृद्धाका लागि ५ देखि ६ घन्टा नै पर्याप्त हुन्छ । साना बच्चाका लागि ८ देखि १० घन्टा नै सुत्नु उपयोगी हुन्छ । तर रातिको समयमा पर्याप्त सुतेनौँ भने शरीरमा अल्छिपना आउँछ । ४ घण्टा निदाएर पनि स्वस्थ रहन सकिन्छ तर गहिरो निद्रा हुनु आवश्यक छ ।

विश्वमै महामारीको रुपमा देखा परेको कोरोना भाइरसका कारण नेपालले पनि मुलुकभर लकडाउन गर्नुपरेको छ । लकडाउनको अवधिमा हामी घरबाट बाहिर निस्कन पाउँदैनौँ । रातदिन घरमै बस्दा अल्छि लाग्नु स्वाभाविकै हो । संकटको समयमा सुत्ने र निदाउने समय पनि एकनासको नहुन सक्छ । यस्तो हुँदा हामीलाई झन् समस्या हुन्छ । हामीले जतिबेला पायो त्यतिबेला सुत्ने गर्नु हुँदैन । पहिलाको नियमित दैनिकीका जस्तै राति सुत्ने र बिहान उठ्ने समय तालिका एकनासको अपनाउनु जरुरी छ ।

चिन्ता, तनाव, निराशा, मानसिक र भावनात्मक असुरक्षा वा अन्य कुनै कारणले मानिसलाई राति निन्द्रा लाग्दैन। समयमै नसुत्ने, चिया वा कफी धेरै पिउने, कुनै समस्या वा बिरामी, ढिलो खाना खाने वा भोकै सुत्ने, ढिलोसम्म टिभी इन्टरनेट वा मोबाइल फोनमा व्यस्त हुने आदि कारणले पनि निन्द्रा हराउँछ।

यस्तो अवस्थामा राम्रोसँग निदाउनका लागि अपनाइने केही उपयोगी विधिहरु :

निदाउन के गर्ने ?

-यदि कुनै कुरालाई लिएर तनाव छ भने पनि निन्द्रा पर्दैन। राम्रो र गहिरो निन्द्राको लागि दिमाग शान्त रहनुपर्छ।

-सुत्नुभन्दा पहिले थोरै समय दिमागलाई कुनै विशेष चिजमा केन्द्रित गर्दा मनको चञ्चलता कम हुन्छ र राम्रो निन्द्रा आउँछ।

-राति सुत्नभन्दा पहिले थोरै बेर यताउता हिँड्ने गर्दा आरामले पनि निन्द्रा आँउछ।

-बेलुकी सादा खाना खानुहोस् तर खाना खानसाथ सुतिनहाल्नुस्।

-दैनिक एकै समयमा सुत्नाले निन्द्रा गहिरो आउँछ।

-सुत्ने समयमा सजिलो कपडा लगाउनु पर्छ।

-सुत्नुभन्दा पहिले मनतातो दूधमा बेसार मिसाएर पिउनाले पनि राम्रो निन्द्रा पर्छ।

-दिउँसो सुत्ने बानी छ भने हटाइहाल्नुहोस्।

-सुत्ने प्रयास गरिरहनुभएको छ तर, निन्द्रा आइरहेको छैन भने उठेर थोरैबेर मधुर संगीत सुन्नुहोस्। यसले निदाउन सहयोग गर्छ।