कोरोनाबाट न्युयोर्कमा बस्दै आएका दुई नेपालीको मृत्यु

काठमाडौं ,कोरोनाको महामारी फैलिएको अमेरिकाको न्युयोर्क राज्यमा दुई नेपालीको मृत्यु भएको छ ।

झण्डै २० बर्षदेखि न्युयोर्कमा बस्दै आएका उनीहरुको मृत्युको कारण खुलाइएको छैन । सन्नीसाइडमा बस्दै आएका थोक्मे बिष्टको अपार्टमेन्टमा नै मृत्यु भएको छ । ४८ बर्षीय बिष्ट माथिल्लो मुस्ताङको लोमान्थाङका रहेको जनाइएको छ ।

विष्टको शनिबार विहान ९ बजे घरमै निधन भएको र बेलुका ६ बजेतिर प्रहरी र मेडिकल टिम आएर शव लगेको पारिवारिक श्रोतले जानकारी दिएको छ ।

मुस्तांग किदुगको पूर्वअध्यक्ष नोर्बु बिष्टका अनुशार सुरुमा टाउको दुख्ने र स्वास फेर्न गाह्रो हुने समस्या भएपछि बिष्ट सीटीएमडीमा उपचारका लागि गएका थिए ।

त्यसपछि उनलाई घरमै आराम गरेर बस्न भनिएको थियो । सीटीएमडीले घरमै बस्न भनेपछि बिष्ट माउन्ट साइनाई अस्पतालमा समेत गएका थिए ।

अस्पतालले एक्सरे गरेपछि फोक्सोमा समस्या रहेको बताएको थियो । तर अस्पतालले भर्ना लिन नमानी घरमै आराम गर्न भनेको र केहीदिनमा रिपोर्ट दिने बताएको थियो । रिपोर्ट नआउँदै बिष्टको निधन भएको हो ।

यस्तै मुस्ताङ घर भई न्युयोर्कको क्वीन्स जमैकामा बस्ने सोनाम लामाको पनि मृत्यु भएको छ । नुप्री एसोसिएसनका पूर्वअध्यक्ष मिङमार लामाका अनुसार उनको कोठाभित्रै मृत्यु भएको छ ।

जमैकामा एक्लै बस्दै आएका ४० बर्षीय लामा केही दिनदेखि बिरामी थिए । उनको पनि मृत्यु कारण खुलेको छैन ।

न्युयोर्कमा कोरोना भाइरसको महामारी फैलिएका कारण उनको पनि मृत्यु कोरोनाकै कारण भएको आशंका गरिएको छ ।