कोरोना रोकथामका लागि आबश्यकीय सामाग्री कुशे गाउँपालिकालाई हस्तान्तरण
जाजरकाेट, पहाडी क्षेत्र बिकास अभियानले कोरोना भाइरस रोकथामका लागि आबश्यकीय सामाग्री कुशे गाउँपालिकालाई हस्तान्तरण गरिएको छ । पहाडी क्षेत्र बिकास अभियान, जाजरकोटले सुक्रबार गाउँपालिकाको कार्यालय थर्पु भार्मामा कोरोना भाइरस रोकथामका लागि आबश्यकिय सामाग्रीहरु गाउँ पालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतलाई हस्तान्तरण गरेको हो ।
गाउँपालिकाका अध्यक्ष बस्नेतलाई २ हजार १ सय ६० पिस साबुन, २ सय पिस हेण्ड सेनिटाइजर, २ हजार मास्क, २० हजार पिस पोष्टर तथा पम्पलेट र ६० वटा फ्ल्यास चार्ट हस्तान्तरण गरिएको पहाडी क्षेत्र बिकास अभियान, जाजरकोटका अध्यक्ष प्रदिप जंग शाहले जानकारी दिए । उक्त सामाग्रीहरु सेभ द चिल्ड्रेन र पहाडी क्षेत्र बिकास अभियानको साँझेदारीमा संचालित अबसर र सहयात्रा दोस्रो परियोजना मार्फत गाउँपालिकालाई हस्तान्तरण गरिएको अध्यक्ष शाहले बताए ।
बाल अधिकार तथा बालबिकासका क्षेत्रमा काम गर्दै आएका अबसर र सहयात्रा दोस्रो परियोजनाले विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस ९कोभिड–१९० को संक्रमण रोकथाम तथा नियन्त्रण गर्नका लागि प्रतिकार्य सामाग्री गाउँपालिकालाई हस्तान्तरण गरेको अध्यक्ष शाहले भनाई राखेका थिए । भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सेभ द चिल्ड्रेन र पहाडी क्षेत्र विकास अभियानले गाउँपालिकालाई हस्तान्तरण गरेको प्रतिकार्य सामाग्रीलाई सन्तुलित रुपमा गाउँपालिकाका सवै वडा र स्वास्थ्य संस्थाहरुमा वितरण गरिने गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले बताए ।
भाइरस रोकथाम तथा नियन्त्रणका लागि संघ र प्रदेश सरकारले पठाएका औषधी तथा अन्य स्वास्थ्य सामाग्रीहरु पनि सवै वडा र स्वास्थ्य संस्थालाई सन्तुलित रुपमा वितरण गर्नुको साथै गाउँपालिकाका तर्फवाट पनि भाइरस नियन्त्रण सम्बन्धिका विभिन्न सचेतनामुलक कार्यक्रम संचालन गरिने अध्यक्ष बस्नेतको भनाई रहेको छ । रोग नियन्त्रणका लागि गाउँपालिकाले आवश्यकता हेरी औषधी तथा स्वास्थ्य सामाग्री खरिद गर्नुको साथै विभिन्न राहत वितरण सम्बन्धिका कार्यक्रमहरु संचालन गरिने अध्यक्ष बस्नेतले प्रतिकार्य सामाग्री बुझ्ने क्रममा भनाई राखेका थिए ।