दाङको राप्ती गाउँपालिकाको ४ वटा वडामा राहत वितरण,५ वडा बाँकी

भालुवाङ,  दाङ देउखुरीको राप्ती गाउँपालिकाको ४ वटा वडाले शुक्रबार राहत वितरण गरेका छन् । कोरोना भाइरसको संक्रमण रोक्न सरकारले गरेको लकडाउनका कारण प्रभावित विपन्न वर्गका घरपरिवारलाई राहत प्रदान गर्ने कार्य शुरु गरिएको छ ।

गाउँपालिकाको ९ वटै वडाहरुबाट विपन्न तथा लगडाउनबाट प्रभावित घरपरिवारलाई चामल,दाल नुन, तेल,सावुन लगायतका सामग्री वितरण सुरु गरिएको छ । दैनिक रुपमा कामकाज गरेर दैनीक आम्दानी गर्ने तथा अपांगता, जेष्ठ नागरिक र असहाय वर्गका घरपरिवारलाई समेत राहत वितरण गरिएको प्रवक्ता विद्याशरण चौधरीले जानकारी दिएका छन्।

करिव १० हजार बढि घरधुरी र ५३ हजार बढि जनसंख्या रहेको गाउँपालिकामा करिव १ हजार बढि गरिव विपन्न घरधुरीलाई प्रथम चरणको राहत घरघरमै र टोल बस्तीमै गएर वितरण गर्न लागिएको छ। प्रथम चरणमा प्रति परिवार ५ देखी १० किलो चामल, एक एक किलो दाल, २ प्याकेट नुन, एक लिटर तेल र दुई पिस साबुन वितरण भइरहेको बताइएको छ।

जस अनुसार वडा नम्बर १ ले शुक्रबार ३५ घरधुरीलाई टोलटोलमा जनप्रतिनिधि तथा टोलसुधार संस्थाका प्रतिनिधिहरुद्धारा छनौट गरिएको परिवारलाई राहत उपलब्ध गराएको र आगामी दिनमा समयानुकुल सहयोग गर्दै जाने वडा अध्यक्ष ताराबहादुर डिसीले जानकारी दिएका छन् । त्यसै गरि वडा नम्बर २ ले १ सय घरपरिवारलाई,वडा नम्बर ६ ले १ सय घरपरिवारलाई,वडा नम्बर ७ ले ९० घरपरिवारलाई राहत वितरण गरेको सम्बन्धित वडाका वडा अध्यक्षहरूले जानकारी दिएका छन् ।

त्यसै गरि वडा नम्बर ३,४, ५ , ८ र ९ मा राहत वितरण गर्न बाँकी रहेको बताइएको छ । बाँकी रहेको वडाले चैत्र २२ गते शनिबार राहत वितरण गर्दै छन् । जस अनुसार वडा नम्बर ३ ले १ सय ८ घरपरिवारलाई,वडा नम्बर ४ ले ५६ घरपरिवारलाई,वडा नम्बर ५ ले ६२ घरपरिवारलाई, वडा नम्बर ८ ले ५५ घरपरिवार र निल सागर सेवा अाश्रमलाई र वडा नम्बर ९ ले ७० घरपरिवारलाई छनाैट गरेका छन् ।