कोरोनाको आशंकामा उपचाररत एक बिरामी अस्पतालबाट भागे

काठमाडौं,टेकु अस्पतालमा कोरोना भाइरसको संक्रमण आशंकामा उपचाररत एक बिरामी भागेका छन् ।

शुक्रबार अस्पताललाई जानकारी नै नदिइ उनी अस्पतालबाट बाहिरिएका हुन् । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डाक्टर शेरबहादुर पुनले एक बिरामी अस्पताललाई जानकारी नै नदिइ बाहिरिएको बताए ।

उनले भने, ‘निमोनियाको उपचार गराइरहेका एक बिरामी हिजो बिना जानकारी निस्किएका हुन् । उनको दुई पटकसम्म कोरोना संक्रमणको जाँच गरिएको थियो । तर, दुवैको नतिजा नेगेटिभ आएको थियो ।’

डाक्टर पुनले अस्पतालको आइसोलेसन कक्षमा कोरोनाको बिरामीमात्रै आउने त्रासले निमोनियाको बिरामी अस्पताललाई थाहै नदिई बाहिरिएको हुनसक्ने बताए ।

बिरामीको सम्पूर्ण विवरण अस्पतालले गोप्य राखेको छ । अस्पतालले बिरामीको सम्पूर्ण विवरणसहित प्रहरीलाई खबर गरेको बताएपनि प्रहरीले भने यस विषयमा अनविज्ञता जनाएको छ ।

महानगरीय प्रहरी पसिरका काठमाडौंका प्रवक्ता डीएसपी होबिन्द्र बोगटीले यसबारे आफूहरुलाई कुनै जानकारी नआएको बताए ।