बाँकेमा टिपरको ठक्कर र आगलागीबाट दुई जनाको मृत्यु
नेपालगन्ज, बाँकेमा छुट्टाछ्ट्टै दुई घटनामा दुई जनाको ज्यान गएको छ। जानकी गाउँपालिका–३ खजुरारोडस्थित जय सियाराम मेनुफैक्चरिङ इन्डष्ट्रिज प्रा.लि. नामक चप्पल कारखानामा आगलागी हुँदा एक जनाको ज्यान गएको हो।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डीएसपी शिवबहादुर सिंहका अनुसार छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको हो। मृतकको अझै सनाखद हुन नसकेको प्रहरीले जनाएको छ। आगलागीमा परी उद्योगका कर्मचारी दिलिप चमार घाइते भएका छन्। उनको भेरी अस्पताल नेपालगन्जमा उपचार भइरहेको छ।
बुधबार बिहान १ बजेतिर भएको आगलागी नेपालगन्ज, कोहलपुरलगायतका ६ वटा दमकलबाट निभाउँदा पनि बिहान ८ बजेतिर मात्र नियन्त्रणमा आएको थियो। क्षतिको एकीन विवरण आइसकेको छैन।
त्यसैगरी बुधबार टिपरको ठक्करबाट कोहलपुर नगरपालिका–८ पिपरीमा ४५ वर्षीया साइकलयात्री रामपति थारुको मृत्यु भएको छ। घाइते थारुको उपचारको क्रममा बिहान ११ बजेतिर निधन भएको हो।
स्थानीयले क्षतिपूर्तिको माग गर्दै तीन घण्टासम्म सडक अवरुद्ध गरेका थिए। ट्रिपर चालकविरुद्ध मुद्दा दायर गर्ने प्रहरीले प्रतिबद्धता जनाएपछि सडक अवरोध खुला गरिएको थियो। प्रहरी प्रवक्ता सिंहले चालकलाई नियन्त्रणमा लिइसकेकाले मुद्दा दायर गरिने बताए।