टिप्परले फेरी लियो एक महिलाको ज्यान , तनाबमा कोहलपुर

कोहलपुर, कोहलपुर नगरपालिका–९ पिपरी चोक नजिकै टिप्परले ठक्कर दिँदा एक महिलाको ज्यान गएको छ । झण्डहवा गाउँदेखि हाइवेतर्फ आइरहेको रा १ ख २१८८ नंम्बरको टिप्परले ठक्कर दिँदा साइकलमा सवार कोहलपुर–९ की ४५ वर्षीय रामपति थारुको ज्यान गएको हो ।

उनी तरकारी व्यवसायी रहेको खुलेको छ । उनको साथमा एउटा मोबाईल र ३ हजार ५ रुपैयाँ नगर रहेको पाइएको छ । अहिले उक्त घटनाको विरोधमा चक्का जाम गरिएको छ ।

विरोधस्वरुप सडकमा टायर बालिएको छ ।कोहलपुर–नेपालगञ्ज सडक खण्डमा चल्ने सवारी साधन ठप्प भएका छन् । ठक्कर दिने चालक र टिप्परलाई इलाका प्रहरी कार्यालय कोहलपुरले नियन्त्रणमा लिएको छ ।

आफन्त भन्छन् सहमति बिना शब किन उठाइयो ?

कोहलपुर पिपरी देखि हाइस्कूल सम्म आन्दोलनकारीले प्रदर्शनका साथै टायर बालेर विरोध गरिहेका छन् । टिप्परले ठक्कर दिएपछि मृतकको शब आफन्तको सहमति बिना उठाएको भन्दै विरोध गरिरहेका हुन् ।

आफन्तको सहमति बिना किन शब उठाइयो भन्दै प्रहरीको जवाफ माग गरेका छन् । हाम्रो सहमति बिना किन र के का लागि शब उठाइयो उनीहरुले प्रहरीले जवाफ दिनुु पर्ने भन्दै आन्दोलन जारी राखेका हुन् ।

कोहलपुरका सडकमा अहिले साइकल, मोटरसाइकल देखि ठूला सवारी आवागमन पूर्ण रुपमा बन्छ । आन्दोलन अझै जारी छ ।