थुलुङदुधकोशीमा एक महिला भीरबाट लडेर मृत्यु

सोलुखुम्बु ,थुलुङदुधकोशी गाउँपालिका–८ मा घाँस काट्ने क्रममा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ।

साविक देउसा गाविस–८ की ५८ वर्षीया उत्रकुमारी राईको घर नजिकै रहेको मुल्ठा भीरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक महेन्द्र दर्नालले जानकारी दिए।

दर्नालका अनुसार सोमबार दिउँसो करिब १ बजे पति ऐश्र्यकुमार राईसँगै घाँस काटने क्रममा भीरबाट चिप्लिएर लडेको हो। लडेर बेपत्ता बनेकी महिलाको शव मंलबार बिहान ८ बजे करिब २०० मिटर तल भीरमा अड्किएको अवस्थामा भेटिएको थुलुङदुधकोशी–७ का वडाध्यक्ष राम संघर्ष किरातीले जानकारी दिए। शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल फाप्लु ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ।