सरकारले ध्यान नदिएपछि सडक बनाउन आफैँ जुटे स्थानीय

सुर्खेत, सम्बन्धित नियकाले ध्यान नदिएपछि वीरेन्द्रनगरका सडकका खाल्डाखुल्डी पुर्न स्थानीयवासी आफैँ जुटेका छन् ।

वीरेन्द्रनगर नगरपालिकाका–१३ स्थित इन्द्रपुरका स्थानीयवासीले आफैँ नै खाल्डाखुल्डी पुर्न थालेका हुन् । उनीहरूले आफ्नो गाउँमा रहेका करिब तीन किलोमिटर सडकमा खाल्डाखुल्डी पुर्नुका साथै ढुङ्गा हालेका छन् । मदन भण्डारी राजमार्गको धुलियाबिटदेखि रामचोकसम्मको करिब तीन किलोमिटर सडकका खाल्डाखुल्डी पुरिएको छ ।

गाउँमा खाल्डाखुल्डी भएर बिरामी लिन एम्बुलेन्ससमेत जान नसकेपछि स्थानीयवासीले आफैँ खाल्डाखुल्डी पुर्न थालेको बताएका छन् । स्थानीय युवा कविनाथ योगीको अगुवाइमा स्थानीयवासीले सडकका खाल्डाखुल्डी पुर्ने काम गरेका हुन् । योगीले आफ्नो खर्चमा करिब ३४ टिपर ढुङ्गा, माटो ल्याएर सडकका खाल्डा पुरेको बताए ।

दुई फिटसम्म खाल्डो हुँदा पनि सम्बन्धित निकायले ध्यान नदिएपछि स्थानीयवासीले सडकका खाल्डा पुर्नु परेको बताउँछन् । स्थानीय कलबहादुर खाँण ठकुरीले सडकमा नगरपालिकाका कर्मचारी, जनप्रतिनिधि हिँडे पनि बेवास्ता गरेको बताए ।

यो सडकमा ढुङ्गा, गिटी र बालुवा लिन दैनिक एक सय बढी गाडी आउजाउ गर्छन् । वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख मोहनमाया ढकालले सडकका खाल्डाखुल्डी प्राथमिकताको आधारमा पुरिने बताउँदै समस्या भएको ठाउँमा नगरपालिकामा खबर आएपछि पुर्ने काम गरिँदै आएको बताए ।