पार्टी एकता प्रधानमन्त्री बन्नका लागि गरेको होइन : अध्यक्ष प्रचण्ड

कोहलपुर, पुर्ब प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले पार्टी एकता आफु प्रधानमन्त्री बन्नको लागि नभएको बताएका छन ।नेकपा प्रदेश ५ को प्रदेश स्तरीय पार्टी प्रशिक्षण कार्यक्रमलाई आइतबार बाँकेको कोहलपुरमा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् ।

‘प्रधानमन्त्री हुनको लागि अथवा पद प्रतिष्ठा केही प्राप्त गर्ने उद्देश्यको लागि पार्टी एकता गरिएको थियो कि भन्ने कुरा बिल्कुल सत्य होईन, यसमा कोही भ्रममा नपर्नुहोला ।,’अध्यक्ष दाहालले भने,‘धेरै कुराको बिचार गरेर पार्टी एकता भएको हो, नेपाली जनताको आवश्यकतालाई सम्वोधन गर्दै नेपाली कम्यूनिष्ट आन्दोलनको भविष्य सुदृढ गर्न र समृद्धि र समाजवादको मार्ग तय गर्नको लागि पार्टी एकता गरिएको हो ।’

‘एकताको भावनाको लागि भनेर त्यतिबेला आलोपालो प्रधानमन्त्री चलाउने भन्ने कुरा गरेका पनि थियौँ ।’, अध्यक्ष दाहालले भने,‘तर अहिले आउँदा आलोपालोले पनि जनतामा भ्रम हुने देखिएपछि आलोपालो पनि छोड्यौँ । पाँचवर्ष यहि सरकार जाओस् पार्टी र सरकार दुईटैलाई प्रभावकारी बनाउने उपाय सोचेका छौँ ।’

दुई ठूला पार्टी एकता गर्ने कुरा सजिलो नभएको उल्लेख गर्दै उनले तीन महिनामा टुङ्ग्याउने भनिएको पार्टी एकताको काम सक्न दुईवर्ष लागेको बताए । दुई पार्टी मिलेकोले विभिन्न मतभेद हुनु स्वभाविक भए पनि धैर्यतका साथ एकताको कामलाई पार लगाउदै स्थानीय तहसम्मनै पार्टी एकता गरी जनतामा सकारात्मक सन्देश दिन सफल भएको उनको दावी थियो ।

कम्युनिष्ट नेताहरूबीच नीति र नेतृत्व भएकै कारण एकता सम्भव भएको उल्लेख गर्दै अध्यक्ष दाहालले राज्य र विद्रोही शान्ति सम्झौतामा आएर यस्तो देश निर्माण गर्न सक्नु नै महत्वपूर्ण उपलब्धि भएको जिकिर गरे ।

साथै प्रचण्डले तत्कालिन एमाले र माओवादीबिच पार्टी एकताका लागि जनयुद्धदेखि नै छलफल र लिखित दस्तावेज तयार हुँदै आएको बताएका छन् ।

‘कमरेड केपी ओलीजी र मैले कुन परिस्थित र पृष्ठभूमिमा पार्टी एकताको पहल गरौं भन्ने निश्कर्षमा पुग्यौ । र, संकल्प गरेर चुनावमा जाऔं भन्ने कुरा बुझाउन आवश्यक ठाने मैले । पार्टी एकताको लामो पृष्ठभूमि भन्न परेन अहिले,’ अध्यक्ष प्रचण्डले भने ।

‘एकातिर शान्तिपूर्ण आन्दोलन र अर्कोतिर जनआन्दोलन पनि चलिराखेकै थियो,’ उनले थपे ,‘२०५६ सालदेखि पार्टी एकताका बारेमा हाम्रो छलफल भएको थियो । जुन कुरा सुरक्षाका कारण हामीले तलसम्म जानकारी नदिएको हो । कमरेड केपी ओली र मेरो २०५८ सालमा भेट भएको थियो । त्यस बेला हामीबीच लामै छलफल र वहस चलेको थियो । उहाँ पनि तिखो कुरा राख्ने मान्छे । तिखा कुरा गर्नु भयो । हामी पनि बन्दुक बोकेका मान्छे । तिखो कुरा गर्ने नै भयौं । दुबैले घनिभूतसँग कुरा राख्यौ ।’

आफूहरुबीच तीन घण्टासम्म छलफल भएको उनले बताए । ‘त्यति बेला तीन घण्टा सम्म हामी बिच वहस भएको थियो म तपाईहरुलाई शेयर गर्न चाहें । उहाँले भन्नु भएको थियो तपाई त मैले सुनेको भन्दा बेग्लै हुनुहुँदो रहेछ , राष्ट्रिय अन्तराष्ट्रिय परिस्थितबारे पनि सबै भन्नु भो, अनि मैले पनि भनेको थिएँ । प्रचण्डले भने, ‘तपाईका बारेमा पनि मैले जे सुनेको थिए , त्यो तपाईमा पाईन , अब म तपाईका बारेमा बेग्लै धारणा बनाउने छु ।’

उनले त्यस यता विभिन्न रुपमा र विभिन्न ठाउँमा पटक पटक पार्टी एकताका लागि पहल भएको र पछिल्लो चरण २०६३ सालमा काभ्रेको फुलवारीमा दुबै पार्टीका शीर्ष नेताहरुबीच दस्तावेजसहित पार्टी एकताको प्रकृया अगाडि बढाइको बताए । जुन छलफलमा ततकालीन एमालेका वरिष्ठ नेता माधवकुमार नेपालदेखि अन्य शीर्ष नेता र तत्कालीन माओवादीका रामबहादुर थापादेखि मोहन वैद्य ( किरण ) , बाबुराम भट्टराई र विप्लवसम्म रहेको अध्यक्ष प्रचण्डले बताए ।

‘माधवजीसँग २०६४ सालको चुनावमा गठबन्धन गरेर चुनाव लडौं भनेर मैले भने कै हो । हामीले ५० प्रतिशत तपाईहरुलाई ५० प्रतिशत सिट बाँडफाँड गरेर चुनाव लडौं । तर उहाँहरुले हामीलाई ४५ प्रतिशत पनि दिन नमाने पछि त्यति बेला एकता हुन नसकेको हो । तर म आफैले नसचेको परिणाम २०६४ सालमा आयो ,’ उनले भने ।

तत्कालीन समयमा राष्ट्रपतिदेखि प्रधानमन्त्रीसम्म आफुलाई चाहिने आफ्नो दम्भका कारण पार्टी एकता हुन नसकेको बताए ।

‘त्यति बेला हामी हौसियौं । राष्ट्रपति पनि हामीलाई नै चाहिने प्रधानमन्त्री पनि हामीलाई सबैथोक हामीलाई नै चाहिने दम्व हुँदा पार्टी एकताले गति लिन नसकेको हो । पहिलो संविधन सभा निर्वाचनमा जनताले तत्कालीन एमालेलाई पछारी दिए,’ प्रचेडले भने, ‘दोश्रो संविधान सभा निर्वाचनमा चुनावमा तत्कालीन माओवादीलाई जनताले एमालको अघिल्लो चुनावको ठाउँमा पछारी दिए । यी यावत कुराको हामीले गम्भीर समीक्षा गरेपछि अब कम्युनिष्टरु एक भएर जानु पर्छ भनेरै पार्टी एकता गरिएको हो ।’

जनयुद्धकालदेखि शीर्ष नेताहरु मिल्दै आए पनि कार्यकर्ताहरु आफू–आफूमा लडेको उनले बताए । ‘हामीहरु पार्टी एकताका लागि मिलेकै थियौं,’ कार्यकर्तातिर इंगित गर्दै उनले भने ,‘बरु तपाईहरु आफू– आफू लड्नु भए होला वा हामीले तपाईहरुलाई लडायौं होला ।’

उनले पार्टी एकताको पृष्ठभुमी र परिस्थिति बुझेर एक ढिक्का हुन कार्यकर्तालाई निर्देशन दिए । अध्यक्ष प्रचण्डले प्रदेश ५ को सरकार र नेकपा पार्टी संगठन समेत देश मै अब्बल रहेको भन्दै नेतृत्व पंक्तिलाई धन्यवाद दिए ।

पार्टी प्रशिक्षण कार्यक्रममा पार्टीका सचिवालय सदस्य तथा गृहमन्त्री रामबहादुर थापा (वादल ) ले भ्रष्ट र तस्करहरुलाई सरकारले नियन्त्रण गरिरहेको तर निस्तेज गर्न नसिएकोले त्यसका लागि नेकपाका पार्टी कार्यकर्ता तलै देखि जुटन् आग्रह गरे ।

गृहमन्त्री थापाले ठग ठेकेदारहरु र भ्रष्टहरुलाई तह लगाउन सडक, सदन र सरकार तीन मोर्चाबाट जुट्नु र समाजवादतर्फ उन्मुख हुन आग्रह गरे । महासचिव बिष्णु पौडेलले फागुनभर सुदृढीकरण र जनसम्वन्ध विस्तारका लागि आन्तरिक तयारीको पहिलो महिना रहेको, चैत्र , बैशाख र जेठ देशब्यापी तीन महिने अभियानको महिना भएकोले पार्टी पक्ति सबै एक ढिक्का भएर सक्रिय हुन निर्देशन थिए ।