रुकुममा अझै ढिके नुन उपभोग गर्दै

रुकुम, रुकुम (पूर्व) का विभिन्न ग्रामीण क्षेत्रमा अझै ढिके नुनको प्रयोग हुने गरेको पाइएको छ ।

आयोडिन युक्त नुनले स्वास्थ्यलाई फाइदा पुग्ने भए पनि रुकुमका ग्रामीण क्षेत्रमा ढिके नुन प्रयोग गर्न छाडिएको छैन । सिस्ने गाउँपालिका–१, २, ४, भूमे र पुथाउत्तरगङ्गा गाउँपालिकाका अधिकांश गाउँमा ढिके नुन प्रयोग गर्नेको सङ्ख्या अझै नघटेको बताइएको छ । पुथाउत्तरगङ्गा गाउँपालिकामा घोडाबाटै बोराका बोरा ढिके नुन ढुवानी हुने गरेको छ । सस्तो र सजिलो भएकाले आफूहरुले ढिके नुन प्रयोग गर्दै आएको भूमे गाउँपालिका–२ का सुजन घर्ती मगरले बताए ।

बजारमा आयोडिनयुक्त नुन पाइने गर्दछ । ढिके नुनभन्दा महङ्गो पर्ने र स्वादमा पनि फरक हुने भएकाले आयोडिनयुक्त नुनको प्रयोग नगरेको मगरको भनाई छ । ढिके नुनको प्रतिकिलो २० रुपैँया र आयोडिनयुक्त नुन ३० पर्ने बताइएको छ । ‘आयोडिनयुक्त नुनको प्रयोग गर्नुपर्छ’ भन्ने चेतनाको अभावले ढिके नुनको प्रयोग गर्न नछाडेका सिस्ने गाउँपालिका–५ का प्रकाश मगरले बताए ।

सरकारले ‘दुई बालबालिकाको चिह्न अङ्कित आयोडिनयुक्त नुनको प्रयोग गरौँ’ भनेपनि यहाँका जनतामा अझै चेतनाको कमी रहेको पाइएको छ ।