दिल्लीमा केजरीवालको पार्टी विजय नजिक

नयाँदिल्ली,  भारतको राजधानीसमेत रहेको दिल्लीमा भएको विधानसभा निर्वाचनको मत सर्वेक्षणले केजरीवालको आम आदमी पार्टीले बहुमत हासिल गर्न सक्ने देखाएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

७० सदस्यीय दिल्ली विधानसभामा बहुमतका लागि ३६ विधायक आवश्यक रहेकोको मतदानको मतगणना भने आगामी मंगलबारबाट सुरु हुनेछ । प्रत्येक पाँच पाँच वर्षमा हुने दिल्ली विधानसभाको ७० सिटका लागि ६७२ उम्मेदवार चुनावी मैदानमा छन् ।

हिजो भएको मतदानमा प्रारम्भिक तथ्याङ्कअनुसार ५५ प्रतिशत मत खसेको जनाइएको छ । दिल्लीमा एक करोड ४७ लाख ८६ हजार ३८२ मतदाता रहेको जसमध्ये २ लाख ३२ हजार ८१५ मतदाता १८ र १९ वर्षका रहेको भारतको निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचनको सुरक्षाका लागि ४० हजार सुरक्षाकर्मी परिचालन गरिएको छ । दिल्ली विधानसभा निर्वाचनमा आम आदमी पार्टी, भारतीय जनता पार्टी र काँग्रेसबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । एजेन्सी