ज्यानै जोखिममा राखेर सडक निर्माण

कर्णाली प्रदेशको समृद्धिसँंग जोडिएको कर्णाली करिडोरको हुम्ला खण्डमा नेपाली सेना र श्रमिकहरूले ज्यानै जोखिममा राखेर सडक निर्माण कार्यलाई तीव्रता दिएका छन् ।

नेपाली सेनालाई जिम्मा लगाएको हुम्ला खण्डको सडकलाई प्रारम्भिक ट्र्याक खोल्ने कार्य आगामी असारभित्र सम्पन्न गर्नुपर्ने भएपछि सेनाले कामलाई तीव्रता दिएको हो । बिहान साढे छ बजेदेखि बेलुका अँध्यारो नहुँदासम्म चट्टान विस्फोटका लागि ‘होल’ खोप्ने काम गर्दै आएका सर्केगार्ड गाउँपालिका–४ का प्रेमबहादुर शाहीले निकै डरलाग्दो भीरमा ज्यान जोखिममा राखेर काम गरिरहेको बताए । डोरीले शरीर बाँधेर कडा चट्टानमा खोप्ने कार्य निकै जोखिमपूर्ण भए पनि कामदार कडा मेहनतका साथ काम गरिरहेको उनले जानकारी दिए । उनको समूहमा आठजना कामदार छन् ।

कर्णाली करिडोरको कवाडी सलीसल्ला खण्डको बालुकुनादेखि सलीसल्लासम्मको १२ किलोमिटर दूरीलाई निकै जोखिम क्षेत्र मानिएको छ । कडा चट्टानका साथै जमिन भिरालो र चट्टानी भीर भएका कारण माथिबाट ढुङ्गा खस्ने जोखिम छ । टाउकोमा हेलमेट, आँखामा चस्मा, खुट्टामा गमबुट, शरीरमा डोरी बाँधिएको अवस्थामा समयमै काम पूरा गर्न सडक निर्माणमा खटिएका स्थानीय मजदुर र नेपाली सेनाका जवान क्रियाशील छन् । यो समाचार आजको गोरखापत्र दैनिकमा राजन रावतले लेखेका छन् ।