दिल्ली विधानसभाका लागि मतदान, कसले मार्ला बाजी ?

नयाँ दिल्ली । भारतको राजधानीसमेत रहेको दिल्लीमा विधानसभा निर्वाचन अन्तर्गत शनिबार मतदान हुँदैछ । विधानसभा निर्वाचनका लागि बिहान ८ बजेदेखि मतदान सुरु भएको छ । निर्वाचन अधिकारीहरुका अनुसार दिल्ली विधानसभाको ७० सिटका लागि ६७२ उम्मेदवार चुनावी मैदानमा छन् । दिल्लीमा एक करोड ४७ लाख ८६ हजार ३८२ मतदाता छन् । तीमध्ये २ लाख ३२ हजार ८१५ मतदाता १८ र १९ वर्षका छन् ।

प्रधानमन्त्री नरेन्द्र मोदीले मतदान सुरु हुनासाथ ट्वीट गर्दै दिल्लीका मतदातालाई मतदानको नयाँ रेकर्ड कायम गर्न आह्वान गरेका छन् । उनले भनेका छन्, ‘सबै मतदातालाई मेरो अपिल छ कि अधिक संख्यामा लोकतन्त्रको यो महोत्सवमा भाग लिनुस् र मतदानको नयाँ रकेर्ड बनाउनुस् ।’

यस्तै, मुख्यमन्त्री अरविन्द केजरीवालले पनि ट्वीट गर्दै महिलाहरुलाई विशेष अपिल गरेका छन् । ‘जसरी तपाईहरुले घरको जिम्मेवारी वहन गर्नुहुन्छ, त्यसैगरी देश र दिल्लीको पनि जिम्मेवारी तपाईहरुको काँधमा छ,’ दिल्लीका महिलालाई सम्बोधन गर्दै उनले भनेका छन्, ‘तपाईहरु सबै मतदानमा अवश्य जानुहोस् र आफ्नो घरका पुरुषलाई पनि लैजानुस् । पुरुषहरुसँग कसलाई भोट दिनु सही हुन्छ भनेर अवश्य चर्चा गर्नुहोस् ।’

भारतीय निर्वाचन आयोगका अनुसार मंगलबार मतगणना हुने छ । दिल्ली विधानसभा निर्वाचनमा आम आदमी पार्टी, भारतीय जनता पार्टी र काँग्रेसबीच मुख्य प्रतिश्पर्धा हुने देखिन्छ । सन् २०१५ को निर्वाचनमा आम आदमी पार्टीले ६७ सिटमा जित हासिल गरेको थियो ।