शिशु जन्मेको ३० घण्टामै कोरोना संक्रमण

एजेन्सी, चीनमा एक नवजात शिशु कोरोना भाइरसको शिकार बनेका छन्। जन्मेको ३० घण्टामै उनलाई कोरोना संक्रमण भएको हो।

चिनियाँ सञ्चार माध्यमहरूका अनुसार ती शिशु नै कोरोनाबाट सबैभन्दा कम उमेरका संक्रमित हुन्। गत आइतबार वुहानको स्थानीय अस्पतालमा शिशुको जन्म भएको थियो।

वुहान त्यही शहर हो, जहाँबाट कोरोना फैलन शुरू भएको थियो। शिशुलाई जन्म दिनु ठीकअघि उनकी आमालाई संक्रमण भएको थियो। शिशुलाई गर्भमै संक्रमण भएको अनुमान गरिएको छ। यद्यपी जन्मनुअघि नै संक्रमण भएको हो वा जन्मेपछि भन्ने पुष्टि भइसकेको छैन। ‘यो केसले हामीलाई सतर्क बनाएको छु,’ वुहान बाल अस्पतालका प्रमुख फिजिसियन जेङ लिङकङले भने। ३.२५ किलोग्राम तौल भएका ती शिशुको अवस्था नाजुक देखिएकाले उनलाई विशेष निगरानीमा राखिएको छ।

समाचार तयार पार्दासम्म, चीनमा यो भाइरसका कारण ५६३ जनाको ज्यान गइसकेको छ भने २८,०१८ जना मानिसमा संक्रमण पुष्टि भएको छ।