बागेश्वरी गुठि प्रकरणः रोकियन स्थानीयको आक्रोश,टायर बालेर प्रदर्शन

नेपालगन्ज,बाँके इन्द्रपुर ३ क अन्तर्गत पर्ने ८४ विघा जग्गा बागेश्वरी गुठीको नभएर व्यक्तिगत भएको भन्दै जग्गाधनी स्थानीय बासिन्दाले टाएर बालेर नेपालगन्जमा प्रदर्शन गरेका छन् । सार्वजनिक सरकारी र गुठी जग्गा संरक्षणसम्बन्धी जाँचबुझ आयोगले दिएको सिफारिसका आधारमा उक्त जग्गा बागेश्वरी मन्दिरको नाममा फिर्ता गराउन सरकारले पहल गरेपछि जग्गाधनी स्थानीयहरुले दिनहुँ नेपालगन्जमा प्रदर्शन गर्दै आएका छन्।

बुधवार पनि स्थानीयहरुले कर्मोनाबाट विरोध र्‍याली निकालेर वीपीचोक हुँदै जिल्ला प्रशासन, मालपोत कार्यालय, गणेशमान चोक हुँदै पुनः बीपी चोक पुगेर चक्काजाम गरी टाएर बालेर प्रदर्शन गरेका हुन् ।  १९३३ देखि हालसम्म तत्कालीन सरकारले तोकेको तिरो तिर्दै, जग्गा जोतभाग गर्दै उक्त जग्गाको भोगचलन गर्दै आइरहेको जग्गाधनी स्थानीयले बताएका छन् ।

१९३३ देखिनै पुर्खौदेखि जग्गा किनबेच, अंशबण्डा, बैकिङ कारोबारलगायतका कार्य गर्दै आएकोमा यसबीच पर्ने जग्गा विवादबारे न्यायालयबाट समेत फैसला हुँदा बागेश्वरी गुठीको जग्गाको नाममा नभई व्यक्तिको जग्गाको नाममा फैसला भएकोमा अहिले सरकारले उक्त जग्गालाई बागेश्वरी गुठीको भनेर वास्तविक जग्गाधनीलाई बेघर बनाउन खोजेको भन्दै आक्रोसित भएका छन् ।

इति सम्वत् १९३६ साल मिति वैशाख श्रुति २ रोज ४ को श्री ३ महाराजा रणोद्दिप सिंहको सनत तथा अन्य ऐतिहासिक प्रमाणले तत्कालीन सभ्य कारकाँदो मौजे करमोहनाको किल्लाभित्र पर्ने सम्पूर्ण जग्गाको तिरो तत्कालीन सरकारले तोके अनुसार जमिन्दार तथा पटवारीले उठाउँदै आएको करमोहना गुठी रैतान नम्बरी जग्गा संघर्ष समिति प्रवक्ता सन्तकुमार बर्माले बताए ।

सरकारद्वारा गठित सार्वजनिक सरकारी र गुठी जग्गा संरक्षणसम्बन्धी जाँचबुझ आयोगका सदस्य जगत देउजाको टोली नेपालगन्ज आई वास्तविकता नबुझेरै २ दिनमै अनुसन्धान गरेर सरकारलाई प्रतिवेदन बुझाएको प्रति आपत्ति जनाउँदै जग्गाधनीहरुले पूजापाठको निरन्तरताको लागि परम्परादेखिनै गुठीलाई तिरो तिर्ने भएकाले बागेश्वरी गुठीलाई तिरो तिरिएको दावी गरेका छन । नम्बरी भूमि उपयोग गरेबापत तिरो तिरेको र उक्त जग्गा गुठीको नभएको उनीहरुको दावी छ ।