मास्क अभाव नगराउन औषधी व्यवसायीको आग्रह
काठमाडौँ- नेपाल औषधी व्यवसायी संघ काठमाडौले बजारमा मास्कको अभाव हुन नदिन व्यवसायीहरुलाई आग्रह गरेको छ । आज एक विज्ञप्ति जारी गर्दै संघले सो आग्रह गरेको हो ।
संघले मास्क व्यवसायीहरुले मास्कको कृतिम अभाव सृजना गरेको आरोप समेत लगाएको छ ।चीनको हुवान शहरबाट सुरु भएको नोबेल कोरोना भाइरसको संक्रमण विश्वभर फैलिएपछि मास्कको माग बढेको छ । सोही प्रकोपका कारण नेपालमा पनि ‘एयर–फिल्टर मास्क’, साधारण पेपर मास्क तथा पञ्जाको अत्याधिक माग बढिरहेको छ । सोही परिस्थितिलाई मध्यनजर गर्दै संघले व्यवसायीहरुलाई मास्कको अभाव हुन नदिन आग्रह गरेको हो ।
नेपालमा कोरोना भाइरसको सम्भावित खतरालाई ध्यानमा राखेर सुरक्षा सामाग्रीहरुको हाल भएको मौज्दातलाई निर्यात नगर्न र नगराउन समेत संघले आग्रह गरेको छ । पर्याप्त मौज्दात कायम राख्ने खुद्रा बिक्री गर्दा तोकेभन्दा बढी मूल्यमा बिक्री वितरण गर्न समेत व्यवसायीहरुलाई संघले आग्रह गरेको छ ।