मेमोरी कार्डको लागि महिलाको हत्या, श्रीमानसहित ४ पक्राउ

जनकपुरधाम , धनुषाको औरही गाउँपालिका २ की २२ वर्षीया चिन्तामणि पासवानको हत्या मेमोरी कार्डकै लागि परिवारबाटै भएको रहस्य खुलेको छ।

प्रहरीले चिन्तामणिको हत्या आरोपमा उनकै श्रीमान अनिल, नन्द पुनिता, सासू कुमला र ससुरा राधाकृष्ण पासवानलाई पक्राउ गरेपछि यस्तो रहस्य खुलेको हो।पक्राउ परेका चारै जनालाई पक्राउ जिल्ला प्रहरी कार्यालय धनुषाले सोमबार सार्वजनिक गरेको छ। घटनाको अनुसन्धान गर्दा मोवाइलमा प्रयोग हुने मेमोरी कार्डका लागि नन्दोसँग झगडा भएको र त्यसपछि श्रीमान, सासु र ससुराले मिलेर हत्या गरेको खुलेको प्रहरी उपरीक्षक रमेश बस्नेतले जानकारी दिए।

उनले भने, ‘पहिलेदेखि नै झगडा भइरहेकोे थियो। तर हत्या गरिएको दिन भने मेमोरी कार्डकै लागि विवाद भएको खुलेको छ।’ ‘श्रीमान, सासु, ससुरा र नन्दोले पहिले चिन्तामणिलाई निर्घात कुटपिट गरी मारेका थिए’, एसपी बस्नेतले भने, ‘त्यसपछि अपराध लुकाउन झुण्ड्याएछन्। र जीउँदै छ भनेर जनकपुरस्थित प्रादेशिक अस्पताल पुर्‍याएको थियो।

’ उनले घटनाबारे थाहा पाएर प्रहरी अस्पताल पुग्दा चिन्तामणिको शव छाडेर सबै फरार भएका थिए थपे। घटनापछि माघ १९ मा जनकपुरधाम उपमहानगर ४ पेठिया बजारबाट कुमला र पुनितालाई प्रहरीले पक्राउ गरेका थिए। त्यसपछि राधा र अनिललाई जनकनन्दनी गाउँपालिका २ बलहा टोलमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको प्रहरीले जनाएको छ।