अब प्रहरी जवानका लागि ‘भीआईपी’ मेसको खाना !
काठमाडौं, प्रहरी अधिकृत र जवानहरुबीच खानामा रहेको ‘विभेद’ हटाउने ‘अभियान’अन्तर्गत महानगरीय प्रहरीले संयुक्त मेसको शुरुवात गरेको छ ।महानगरीय प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) विश्वराज पोखरेलले केही दिन अगाडि प्रहरी अधिकृत र जवानहरुले एउटै मेसमा खाना खानुपर्ने नियम शुरु गरिएको घोषणा गरेका थिए । जसअनुसार आइतबार महानगरीय प्रहरी बृत्त ठिमीमा संयुक्त मेसको उद्घाटन गरिएको छ ।
आइतबार एक कार्यक्रमका बीच डीआईजी पोखरेलले महानगरीय प्रहरी बृत्त ठिमीको संयुक्त मेसको उद्घाटन गरे । संयुक्त मेसको उद्घाटन गर्दै डीआईजी पोखरेलले चर्चाका लागि मात्रै संयुक्त मेसको अवधारणा अगाडि नसारिएको भन्दै उक्त अवधारणालाई अक्षरसः पालना गरिने पनि बताए ।
यस अघि प्रहरी कर्मचारीहरूको लागी सिनियर प्रहरी अधिकृत, जुनियर प्रहरी अधिकृत र जवान हवल्दार गरि ३ तहको मेस संचालन हुँदै आएको थियो । यसरी संचालनमा आएको मेस प्रणालीबाट तल्लो दर्जाको मेसमा अपेक्षित सुधार हुन नसकेको तथा यसबाट प्रहरी जवान(हवल्दारहरुको मनोबलमा नकाराल्मक असर पर्ने गरेको भन्दै प्रहरीको मश प्रणालीको आलोचना हुने गरेको थियो ।
डीआईजी पोखरेलले सम्पूर्ण मातहत कार्यालयहरुमा अधिकृत जवानहरुको साझा तथा स्तरीय मेस निर्माण तथा सुधार अभियान शुभारम्भ गरिएको बताउदै सबै कार्यालयहरुले उक्त अभियान सफल बनाउन भूमिका निर्वाह गर्नुपर्ने बताए ।