दाङमा अज्ञात रोगका कारण दुईसय भेडा मरे

दाङ ,दाङमा दुईसय भेडा मरेका छन् । अज्ञात रोगका कारण पूर्वी रुकुमका उत्तरी भेगबाट दाङ ल्याईएका दुईसय भेडा मरेका हुन ।भेडामा मुख पाक्ने, पखाला लाग्ने र झुङ्ने, घाँस नखाने र मर्ने समस्या देखिएको छ । पूर्वी रुकुमको भूमे गाउँपालिका वडा नं १ लुकुमका चार जना भेडापालक किसान पनि यो वर्ष भेडालाई चिसोबाट जोगाउन भन्दै आफूहरुले पालेका सयौँ भेडा बाख्रा साथमा लिएर मङ्सिर दोस्रो साता दाङतिर झरेका थिए ।

मङ्सिर १० गते रुकुमबाट हिँडेका उनीहरु पुस २९ गतेमात्रै घोराही उपमहानगरपालिका वडा नं १९ को पाँच पोखरीमा आइपुगेको भेडा किसान प्रेमबहादुर पुनले बताए। करिब दुई महिनाअघि प्रेमबहादुरसहित भेडाको बथान लिएर हिँडेका धर्म बुढामगर, धर्मकुमारी पुन र रामकृष्ण पुन रोल्पाको जलजला, भनभने, थामा हुँदै घोराही उपमहानगरपालिका वडा नं १९ को पाँचपोखरीमा आएका थिए ।

बितेको दुई हप्तामा उनीसंगै रहेका चार सय भेडामध्ये करिब २०० बढी मरेका छन् । दैनिक सरदर १०/१२ वटासम्म भेडा मर्ने गरेको प्रेम बुढाले बताए । यो वर्ष चरन राम्रो हुने, चिसो धेरै नहुने भन्दै दाङ झरेका थिए ।