साउना नुहाउने क्रममा दम्पतीको मृत्यु

ललितपुर । ललितपुरको एउटा फिटनेश सेन्टरमा बुधबार राति एक दम्पतीको मृत्यु भएको छ ।

तिखेदेवलस्थित फिट एन्ड फाइन एरोबिक फिटनेसको बाथरुममा नुहाउन गएका दम्पत्तीको मृत्यु भएको हो । महानगरीय प्रहरी परिसर ललितपुरका अनुसार बुधबार राति करिब ९ बजेको समयमा उक्त हेल्थ क्लवको ‘साउना बाथ’ का क्रममा ४२ वर्षीय हस्त गर्बुजा मगर र उनकी पत्नी ३९ वर्षीय नेत्रकुमारीको मृत्यु भएको हो ।

मृतक हस्त गर्बुजा पूर्वमन्त्री थममाया थापाको स्वकीय सचिव थिए । पूर्वमन्त्री थापाले मृतक गर्बुजा आफ्नो स्वकीय सचिव रहेको बताइन् ।बुधबार नै गृहजिल्ला म्याग्दी पुगेकी थापाले रातोपाटीसँग भनिन्, ‘मैले पनि दुःखद् खबर सुनेँ, यता जिल्लामा आएकी छु, प्रहरीले फिटनेस सेन्टरको सञ्चालकलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको छ भन्ने सुनेकी छु ।’

महानगरीय प्रहरी परिसर ललितपुरका प्रहरी वरिष्ठ उपरीक्षक टेकप्रसाद राईले रातोपाटीलाई दिएको जानकारीअनुसार नुहाउन गएका दम्पती बेहोस भएको जानकारी पाउनासाथ घटनास्थल पुगेको प्रहरी टोलीले दुवैजनालाई तत्कालै अस्पताल लगेको थियो । चिकित्सकले दुवै जनाको मृत्यु भएको पुष्टि गरेपछि शव परीक्षण लगायत आवश्यक अनुसन्धान भइरहेको उनले जानकारी दिए ।