चीनको सबै इलाकामा कोरोनाभाइरस फैलिएपछि मृतकको संख्या बढ्यो

चीनमा कोरोनाभाइरसका कारण मृत्यु हुनेको संख्या १ सय ७० पुगेको छ । पछिल्लो समय यो भाइरस तिब्बतमा देखिएसँगै अब यो मेनल्याण्ड चीनको प्रत्येक इलाकामा फैलिएको पुष्टि भएको छ ।

चिनियाँ स्वास्थ्य अधिकारीका अनुसार २९ जनवरीसम्म ७ हजार ७ सय ११ जनामा यो संक्रमण देखिएको छ । उक्त संक्रमण अन्य १६ वटा देशमा पनि फैलिएको छ ।बिहिबार यो भाइरसलाई विश्वव्यापी स्वास्थ्य संकटकाल घोषणा गर्ने वा नगर्ने भन्ने विषयमा विश्व स्वास्थ्य संगठनबीच छफलफ हुने बताइएको छ ।

‘पछिल्ला केही दिनमा यो भाइरस मानिसबीच पनि सर्ने थाहा भएपछि यसले ठूलै चिन्ता निम्त्याएको छ,’ बुधबार विश्व स्वास्थ्य संगठनका डिरेक्टर–जनरल तेद्रोस अदहानोम घेब्रेयेससले बताए । यद्यपि, चीन बाहिर तुलनात्मक रुपमा संक्रमित थोरै छन् तर यो धेरै माझ फैलिने प्रचुर सम्भावना छ ।’