हिमाली भेगमा पाँचौंपटक हिमपात

बैतडी, बैतडीसहित सुदूरपश्चिमका उच्च पहाडी भू भागमा हिमपात भएको छ। बुधबार हिमपात भएसँगै यस वर्ष यहाँ पाचौंपटक हिमपात भएको छ।

यस वर्ष गत मंसिर अन्तिम साता सुदूरपहाडमा पहिलोपटक हिमपात भएको थियो। बुधबार जिल्लाको दशरथचन्द राजमार्गअन्तर्गत खोडपे, सतबाँझ, जयपृथ्वी राजमार्गको श्रीभावर, ढोल्यामोड क्षेत्रमा हिमपात भएको प्रहरीले जनाएको छ। यसका साथै जिल्लाका अन्य स्थानमा पनि हिमपात भएको छ। पाँचौंपटकको हिमपातले अत्यधिक चिसो बढेको छ।

चिसोका कारण यहाँको जनजीवन प्रभावित बनेको स्थानीय डम्बर बोहराले बताए। वर्षा र हिमपातका कारण बाहिर निस्किन नपाएको र वस्तु भाउको स्याहारमा समेत समस्या हुनुका साथै जनजीवन कष्टकर भएको बोहराको भनाई छ। यस वर्ष लगातार भएको वर्षा र हिमपातले हिउँदेबालीमा क्षति पुगेको छ। सुरुको वर्षा र हिमपातले बालीनालीलाई फाइदा पुर्‍याएको भए पनि लगातार वर्षा र हिमपात हुँदा हिउँदेबालीमा क्षति पुगेको किसान राजबहादुर टेरको भनाई छ।

लगातारको वर्षा र हिमपातले फलफूल र गहुँबालीमा क्षति पुर्‍याएको हो। हिमपातका कारण जिल्लाको दुर्गम सिगास गाउँपालिकाको कामकाज समेत प्रभावित भएको छ। गाउँपालिका केन्द्र गर्जेमा हिमपात चिसो बढेकाले कामकाजमा समेत समस्या भएको हो। हिमपातले चिसो बढेकाले न्यानो लुगा लगाई, झोलिलो कुराको सेवनमा जोड दिन स्वास्थ्य कार्यालय बैतडीले अनुरोध गरेको छ।