भारतको राष्ट्रिय ध्वजावाहक एअर इन्डिया बेच्दै सरकार

एजेन्सी, भारतमा मोदी सरकारले राष्ट्रिय ध्वजावाहक एअर इन्डिया बेच्ने कोशिस फेरि शूरु गरेको छ। सरकारको स्वामित्वमा रहेको कम्पनीको सत्प्रतिशत शेयर बेच्न सरकारले बोलपत्र आह्वान गरेको छ।

भारत सरकारसँग रहेको शेयर खरिद गर्न चाहने फर्म वा कम्पनीले १७ मार्चभित्र आवेदन दिइसक्नुपर्नेछ। निरन्तर घाटामा गएको एअर इन्डियालाई सरकारले सन् २०१८ देखि नै बेच्न खोजिरहेको छ। त्यतिखेर सरकारसँग रहेको ७६ प्रतिशत शेयर खरिदका लागि एउटै आवेदन परेको थिएन । शेयर खरिद गरेपनि खरिदकर्ताले मुम्बईस्थित एअरइन्डियाको भव्य भवन भने प्राप्त गर्नेछैन।

भारतीय गृहमन्त्री अमित शाह अध्यक्षताको मन्त्रीमण्डलका समूहले गत जनवरी ७ तारिखमा एअर इन्डियालाई निजीकरण गर्ने प्रस्ताव पारित गरेको थियो। एअरइन्डियाको मूल्य ८० अर्ब भारतीय रुपैयाँ तोकिएको छ।

सन् १९३२ मा जेआरडी टाटाले टाटा एअरलाइन्सका नामबाट यो विमानसेवा शुरु गरेको थियो। १९४६ मा नाम परिवर्तन र १९५३ मा सरकारले यो विमान कम्पनीको स्वामित्व लिएको थियो।