मृत्यु भएका ८ जना भारतीय पर्यटकको पहिचान खुल्यो

काठमाडौं,मकवानपुरको थाहा नगरपालिकाअन्तर्गत पर्ने दामनस्थित एभरेस्ट पानोरमा रिसोर्टमा अचेत अवस्थामा फेला परी उपचारका क्रममा मृत्यु भएका ८ जना भारतीय पर्यटकको पहिचान खुलेको छ ।

मृत्यु हुनेमा भारत केरेलका रत केरलाका ३८ वर्षीय रन्जित कप, ३४ वर्षीय इन्द्र कप, ३७ वर्षीय प्रवीण, ३२ वर्षीया सरिया, ५ वर्षीय अभी, ७ वर्षीया अर्चना, ५ वर्षीय बैशनव, ९ वर्षीया बन्द्रा रहेका छन् ।मंगलबार बिहान अचेत अवस्थामा फेला परेका उनीहरुको उपचारका क्रममा काठमाडौंको धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा मृत्यु भएको हो ।

मंगलबार बिहान अचेत अवस्थामा फेला परेपछि ८ जनालाई नै हे‍लिकोप्टरमार्फत उपचारका लागि ह्याम्स अस्पताल पुर्‍याइएको थियो ।प्रहरीका अनुसार १५ जनाको समूहमा अघिल्लो हप्ता घुम्नका लागि भन्दै उनीहरु नेपाल आइपुगेका थिए ।पोखरा लगायतका ठाउँहरुको भ्रमण गरेपछि सोमबार साँझ मात्रै उनीहरु दामनस्थित एभरेस्ट पानोरमा रिसोर्ट पुगेका थिए । मृतक ८ जना रिसोर्टको १०१ नम्बर कोठामा बास बसेका थिए ।

पानोरमा रिसोर्टमा सुत्दा उनीहरुले ग्यास हिटर प्रयोग गरेका थिए । कोठाका सबै झ्याल र ढोकाहरु बन्द गरी ग्यास हिटर बालेका कारण निस्सासिएर उनीहरुको मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ ।उपचारमा संलग्न चिकित्सकहरुले भने उनीहरुको मृत्युको कारणबारे केही खुलाएका छैनन् । मृत्युको यकीन कारण पोस्टमार्टम पछि मात्रै खुल्ने प्रहरीले जनाएको छ ।