हात्तीपाइलेविरुद्धको औषधि सेवन गर्न चिकित्सकको सुझाव

बाँके, नेपालगन्ज उपमहानगरपालिकाले एक लाख ४५ हजार जनालाई हात्तीपाइलेविरुद्धको औषधि खुवाउने भएको छ। कुल एक लाख ७३ हजार ७९४ जनसंख्या रहेकोमा विरामी, जेष्ठ नागरिक, गर्भवती र दीर्घरोगी बाहेक एकलाख ४५ हजार सर्वसाधारणलाई हात्तीपाइले विरुद्धको औषधि खुवाउने लक्ष्य राखेको उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत हरि प्याकुरेलले जानकारी दिए।

यसपटक बढी भन्दा बढी सर्वसाधारणलाई समेट्ने गरी योजना बनाएको बताउँदै उनले कोही नछुटुन, कोही नदोहोरिउन भन्ने नीति अवलम्बन गरिएको बताए। बढीभन्दा बढी सर्वसाधारणलाई समेट्न विद्यालय र विद्यार्थीलाई समेत परिचालन गरिने उनको भनाई छ। ‘अघिल्ला बर्षको अभियानबाट पाठ सिकेर यसपाली टोल, घर, कार्यालय र पसलमा समेत स्वयंसेवक परिचालन गर्ने योजना छ,’ उनले भने।

हात्तीपाइलेविरुद्धको औषधि खुवाउने अभियान २५–२७ माघसम्म संचालन हुने भएको छ। दुईवर्ष भन्दा कम र ७० बर्ष भन्दामाथि उमेर समूहका ब्यक्ति, गर्भवती र गम्भीर प्रकृतिका विरामी बाहेकका ब्यक्तिले ढुक्कसँग औषधि सेवन गर्न सक्ने चिकित्सकले बताएका छन्। औषधिले कुनै पनि नकारात्मक असर नगर्ने बताउँदै चिकित्सकले हात्तीपाईलेविरुद्धको औषधि निर्धक्कसँग सेवन गर्न सुझाव दिएका हुन्।

भेरी अस्पताल, नेपालगन्जका कन्सल्टेन्ट फिजिसियन डा. खगेन्द्रजङ शाहले हात्तीपाइलेविरुद्धको औषधिले स्वास्थ्यमा कुनै नकारात्मक असर नगर्ने बताउँदै औषधीले दीर्घकालीन असरबाट जोगाउने बताए। उनले औषधि सेवनपछि सामान्य असर देखिए पनि त्यसले स्वास्थ्यमा गम्भीर असर नगर्ने स्पष्ट पारे। ‘विगतका वर्षमा देखिएका सामान्य असरलाई गलत ढंगले बुझ्ने काम भयो।

यसले समाजमा नकारात्मक असर पर्न गयो,’ डा. शाहले भने। अभियानलाई प्रभावकारी बनाउन नेपालगन्ज उपमहानगरपालिकाले वडा अध्यक्ष र स्वास्थ्यकर्मी सहितको टोली बनाएको छ। नेपालगन्ज उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख डिल्लीराज पोख्रेलले हात्तीपाइले रोगविरुद्धको आम औषधि सेवनका लागि स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयंसेविकाको परिचालन गरिने बताए। उनले अभियानलाई प्रभावकारी बनाउन अघिल्ला वर्षभन्दा धेरै स्वयंसेवक परिचालन गरिने जिकिर गरे। ‘धेरैभन्दा धेरैलाई औषधि खुवाउन सचेतना आवश्यक छ,’ पोख्रेलले औँल्याए।