कजाकस्तानको विमान दुर्घटनामा मृत्यु हुनेको सँख्या १५ पुग्यो

नुरसुल्तान, कजाकस्तानमा चालक दलसहित ९८ जना यात्रु बोकेको विमान दुर्घटना हुँदा ज्यान गुमाउनेको संख्या १५ पुगेको छ । कजाकस्तानका हवाइ अधिकारीका अनुसार अलमाटी विमानस्थलबाट उडेलगत्तै बेक एयरको विमान दुर्घटना भएको हो ।

बीबीसीका अनुसार दुर्घटनामा घाइते भएका बालबालिकासहित ६६ जनालाई उद्धार गरी अस्पताल लगिएको छ।
दुर्घटनाग्रस्त विमान अलमाटीबाट राजधानी नुरसुल्तानका लागि उडान भर्दै थियो। टेकअफ गर्नेबित्तिकै टावरसँग सम्पर्क विच्छेद भएर विमान दुर्घटना भएको बताइएको छ।

अलमाटी विमानस्थलका अधिकारीहरुमा अनुसार विमानमा ९३ यात्रु र ५ जना क्रु मेम्बर थिए।दुर्घटनाग्रस्त विमानमा आगलागी भने नभएको बताइएको छ। दुर्घटनाग्रस्त विमान विमानस्थलनजिकै एउटा भवनमा ठोक्किन पुगेको छ।

बेक एअर सन् १९९९ मा स्थापना भएको हवाइसेवा प्रदायक कम्पनी हो। जसले सुरुमा भीआईपी उडान मात्रै गर्थ्यो।अहिले भने यसले आफू कजाकस्तानकै सस्तो हवाइ सेवा दिने कम्पनी भएको दाबी गर्छ।

कजाकस्तानको अलमाटीमा यसअघि सन् २०१३ को जनवरीमा पनि विमान दुर्घटना भएको थियो। कोशेताउबाट अलमाटीका लागि उडान भरेको स्क्याट एयरलाइन्सको विमान दुर्घटना हुँदा २० जनाको ज्यान गएको थियो।