बिश्वको चर्चित हतियार एके–४७ का डिजाइनरको निधन

एजेन्सी । एके–४७ राइफलका डिजाइनर मिखाइल क्लास्निकोभको निधन भएको छ । विश्वभर लोकप्रियता कमाएको एके–४७ राइफलका ९४ वर्षका मिखाइलको रुसको उदमुर्तिकास्थित इजेभास्कमा निधन भएको हो । या राइफल विश्वमै सबैभन्दा बढी प्रयोगमा आएको र रुचाइने मेसिनगन हो ।

तत्कालिन सोभियत संघले सन् १९५० देखि यो बन्दुकको व्यवसायीक उत्पादन थालेको थियो । दोस्रो विश्वयुद्धपछि अमेरिकासँग शुरु भएको शीतयुद्धका क्रममा रुसले यो हतियार बनाएको थियो ।

सन् १९६० को दशकमा चलेको भियतनाम युद्धमा क्लास्निकोभ राइफलले निकै तहल्का मच्चाएको थियो । अमेरिकाले सोही युद्धलाई केन्द्रीत गर्दै एम–१६ राईफल बनाए पनि भियतनामका ओसिला जङ्गलहरुमा खिया लाग्ने र जाम पर्ने समस्या देखिएको थियो ।

तर हो ची मिन्ह नेतृत्वको भियतकङ्गले प्रयोगमा ल्याएको रुस निर्मित एके–४७ सो युद्धमा निकै प्रभावकारी सावित भएको थियो । हाल विश्वभर नै राष्ट्रिय सुरक्षा इकाईदेखि विद्रोहीसम्मको पहिलो रोजाईमा एके–४७ राईफल पर्ने गरेको छ ।